×

वीरगञ्ज ७ सावन । लक्की ग्रुपका अध्यक्ष सतिश मोर नेपाल उद्योग परिसंघको अध्यक्ष समेत हुन् । लक्की ग्रुप अन्तर्गत बाराको सतिश मोरकै लगानीमा सीमरामा गणपति घिउ उद्योग चलिरहेको छ।

गभपति घिउ उद्योगलाई नेपाल उद्योग परिसंघले सर्वाधिक निकासी गर्ने उद्योगको रुपमा बुधबार सम्मान गरेको छ। आफू अध्यक्ष भएको संस्थाको तर्फबाट आफ्नै परिवारको सदस्य (छोरा) अध्यक्ष रहेको उद्योगलाई साफ्टा सुविधा अन्तर्गत सर्वाधिक निकासी गर्ने उद्योगको रुपमा मोरले सम्मान गरेका छन्। 

तेश्रो मुलुकबाट भित्र्याइएको कच्चा तेल प्रशोधन गरेर साफ्टा (दक्षिण एशियाली व्यापार संगठन) अन्तर्गत शुन्य भन्सार महशुल सुविधाको  दुरुपयोग गर्दै तेलको निकासी गरेर सर्वोत्कृष्ठ निर्यातकको पदक आफैंले आफैंलाई दिएर अध्यक्ष मोरले 'आफैं धामी, आफैं झाँक्री' झैँ गरेका छन् ।

सार्क मुलुकहरुबीच स्थानीय उत्पादनको निकासीलाई  प्रवर्द्धन गर्ने उद्देश्यले साफ्टा सुविधा लागू गरिएकोमा नेपालमा 'इधरका माल उधर'बाट कमाई गर्न उद्योगका साहुहरु पल्किएका छन्।

गणपति घिउ उद्योगले सन् २०२० मेबाट पाल्मोलिन तेलको आयातमा भारतले रोक लगाउनु अघि पाल्मोलिन तेलको भारत निकासी ठूलो परिमाणमा गरेको थियो । सबैभन्दा सस्तो मूल्यमा बिक्री हुने पाल्मोलिन तेल( खजुरको तेल) अन्य खानेतेलको तुलनामा स्वास्थ्यको लागि हानिकारक मानिएको छ।

गणपति घिउ उद्योगको कूल आम्दानीमा सन् २०२० मा ४४ प्रतिशत हिस्सा भारततर्फको निकासीले ओगटेको छ । यो मध्ये ६० प्रतिशत पाल्मोलिन तेलको निकासीबाट आम्दानी गरेको थियो। त्यसैगरी सन् २०२१ को पहिलो ६ महिनामा कूल निकासीको ६० प्रतिशत हिस्सा सोयाबिन तेल, २७ प्रतिशत हिस्सा सूर्य मुखी तेल (सन फ्लावर) र ११ प्रतिशत हिस्सा पाल्मोलिन तेलले ओगटेको छ।

भारतीय बजारमा निकासी खुलेपछि व्यापार गुलजार हुँदा गणपति घिउ उद्योगले सन्  २०१७ यताको ३ वर्ष औसत २० प्रतिशत व्यापार वृद्धि गरेको थियो। गणपति घिउ उद्योगको सन् २०२० को संचालन आम्दानी ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको थियो।

Back to top