×

वीरगञ्ज २७ असार । नेपाल लगानी बोर्ड र भारतीय उर्जा प्रवधक कम्पनी एसजेभिएनबीच ६७९ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ।

प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा पर्ने अरुण नदीमा तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको हो।

आइतबार राजधानीमा आयोजित एक समारोहबीच लगानी सम्बन्धी सम्झौता पत्रमा नेपालको तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र एसजेभिएनको तर्फबाट मुख्य प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।

जलाशय वा बाँध रहित हुने यो आयोजनामा चारवटा टर्वाइन जडान गरिनेछ आयोजनाको निर्माण सम्पन्न भएपछि वार्षिक २९७० मिलियन युनिट विद्युत् उत्पादन हुनेछ। निर्माण संचालन र हस्तान्तरण अवधारणा अन्तर्गत २५ वर्षको लागि यो जलविद्युत आयोजना एसजेभिएनलाई संचालनको स्वीकृति दिइएको छ।

संखुवासभामा एसजेभिएनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। यो आयोजनाको निर्माणमा ७ हजार करोड भारु अर्थात ११ हजार ४ सय करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो।

Back to top