×

वीरगञ्ज २६ असार ।  नेपाली उपभोक्ताहरुले दाँतको उपचारको लागी गर्ने खर्चमा क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । चालू आर्थिक वर्षमा दाँतको उपचारको लागी प्रयोग हुने दन्त सिमेन्टको आयात परिमाणमा झण्डै ९२ प्रतिशतले भएको वृद्धिले यस्तो संकेत गरेको हो ।


शरीरको महत्वपूर्ण अंगको रुपमा रहेको दाँतको उपचारको लागी ११ महिनामा झण्डै साढे तीन करोड रुपैयाँ बराबरको दन्त सिमेन्ट आयात गरिएको छ । भन्सार विभागको तथ्यांक केलाउँदा दाँतको उपचारमा प्रयोग हुने सिमेन्टको आयात ९२ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको यस्तो सिमेन्ट आयात गरिएको छ । यो अवधिमा डेन्टल सिमेन्ट एण्ड अदर फिलिङ्स, वन रिकन्स्ट्रक्शन भन्ने शीर्षक अन्तर्गत १७.८० मेट्रिक टन सिमेन्ट आयात भएको भन्सार विभागले उल्लेख गरेको छ ।

यसको आयातबाट मात्रै नेपाल सरकारले ८५ लाख २४ हजार रुपैयाँ राजश्व असुली गरेको छ । भन्सार महशुल समेत गरेर चालू आर्थिक वर्षमा मात्रै ४ करोड ३४ लाख रुपैयाँ दन्त सिमेन्टको आयातमा मात्र खर्च भएको छ ।


त्यस्तै आ.व. २०७७।७८ को जेठसम्ममा २ करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको ९.२६४ मेट्रिक टन दन्त सिमेन्ट आयात भएको थियो ।


दाँतको उपचार गर्ने अस्पताल तथा क्लिनिकहरुमा दाँतको उपचारको क्रममा दाँतमा भएको खराबी हटाएर किराले खाएको दाँतको प्वाल टाल्न, गिजा र दाँतबीचको खाडल पुर्नलगायतको उपचार विधिमा दन्त सिमेन्टको प्रयोग हुन्छ ।
 

Back to top