×

वीरगञ्ज २६ असार । राजश्व अनुसन्धान विभागसँग कर छलीको मामिलामा झमेला खेपिरहेको वरुण वेभरेज प्रा.लि.ले २ अर्ब रुपैयाँभन्दा बढी बैंक ऋणको लागी क्रेडिट रेटिङ (बैंक कर्जाको लागी योग्यता वर्गिकरण) गराएको छ । वरुण वेभरेजले नेपालमा अन्तर्राष्ट्रिय पेप्सीकोको चिसो पेय पदार्थ उत्पादन र वितरण गरिरहेको  छ ।


पूर्ण भारतीय स्वामित्वमा रहेको यो कम्पनीले बैंकबाट २ अर्ब ४८ करोड ८० लाख रुपैयाँ ऋण लिन लागेको हो । कोरोना संक्रमणको कारण अर्को मुख्य प्रतिस्पर्धी कोकाकोलाको बजार शिथिल भइरहेको बेला पेप्सीकोलाले आफ्नो दुईवटा उद्योगबाट भइरहेको उत्पादनलाई तीब्रता दिंदै बजार बिस्तारमा लागेको छ ।


क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बरुण वेभरेज प्रा.लि.लाई अल्पकालीन बैंक ऋण प्रयोजनको लागी इक्राएनपि ए प्लस रेटिङ उपलब्ध गराइएको छ । यो रेटिङले बैंक ऋणको लागी कम्पनीको अवस्था राम्रो रहेको संकेत गर्छ । भारतीय बजारमा बलियो उपस्थिति कायम गर्न सफल वरुण वेभरेज प्रा.लि. भारतको आर्थिक तथा प्राविधिक सहयोग, नेपालमा झण्डै ४३ प्रतिशत बजार हिस्सा ओगटेको र ९० प्रतिशतभन्दा बढी वितरकहरुलाई बंैंक ग्यारेन्टीको आधारमा मात्र कारोबार गर्न दिएकोलगायका आधारलाई मानेर इक्राले यस्तो वर्गिकरण गरेको हो ।


वरुण वेभरेज अन्तर्गत काठमाण्डौंको सिनामंगल र नवलपरासीमा चिसो पेय पदार्थको उद्योग संचालनमा रहेको छ । पछिल्लो समयमा पेप्सीको बजार मागलाई सुधार गर्दै झण्डै ३१ प्रतिशतले बिक्री बढाउन सफल भएको इक्रा नेपालले आफ्नो प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।


कर छलीको लफडा के हो ?


वरुण वेभरेज प्रा.लि.को व्यवस्थापनले नक्कली भ्याट बिल खरिद गरेर भ्याट छलेको प्रमाणसहित राजश्व अनुसन्धान विभागले गत वर्ष मुद्दा दर्ता गरेको थियो । वरुण वेभरेज प्रा.लि.को व्यवस्थापनले नक्कली भ्याट बिल खरिद गरेर भ्याट छलेको प्रमाणसहित राजश्व अनुसन्धान विभागले गत वर्ष मुद्दा दर्ता गरेको थियो । वरुण वेभरेज काठमाण्डौं जिल्ला अदालतमा १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ बिगो माग गरेर विभागले २०७६ पुस महिनामा मुद्दा दायर गरेको हो ।

६४ करोड ९६ लाख रुपैयाँ राजश्व छलेको आरोपमा वरुण वेभरेज र ७ जना सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद कुमार सिंंह र अशोक कुमारलाई दोषी किटानी गरिएको छ ।
 

Back to top