सांकेतिक तस्विर ।
वीरगञ्ज १५ असार । कोरोना महामारीको कारण सार्वजनिक सवारी साधनको प्रयोग निरुत्साहित भएपछि निजी सवारी साधन खरिद गर्ने प्रवृत्ति बढेको छ ।
भीडभाडपूर्ण सार्वजनिक सवारी साधनमा यात्रा गर्दा संक्रमणको जोखिम उच्च हुने र निषेधाज्ञा वा लकडाउन घोषणा गरिएको अवस्थामा सबैभन्दा पहिले सार्वजनिक सवारी साधन संचालनमै रोक लाग्ने गरेको हुँदा उपभोक्ताहरु चारपाङ्ग्रे नभए कम्तीमा दुई पाङ्ग्रे सवारी साधन आफैंले किनेर चढ्ने प्रवृत्ति बढेको छ ।
अझ कोरोनाको कारण व्यापार ह्रास हुने संभावनालाई मध्यनजर गर्दै मोटरसाइकल बिक्रेताहरुले काठमाडौं जस्ता ठूलो बजार क्षेत्रमा मोटरसाइकलको माग बढाउन रु. १ मै मोटरसाइकल दिने भनेर प्रवद्र्धन गर्दै ३ वर्षको किस्ता सुविधा र बिना धितो मोटरसाइकल खरिद गर्न कर्जा दिने सुविधा दिएर माग बढाएका छन् ।
मोटरसाइकल र स्कुटर प्रति उपभोक्ताको बढ्दो आकर्षणलाई वीरगञ्ज भन्सारको तथ्याङ्कले पनि पुष्टी गरेको छ । मुख्यस्थल भन्सार नाकाबाट मोटरसाइकलको आयातमा ७० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा करिब एक लाख मोटरसाइकल भित्रिएका छन् । वीरगञ्ज भन्सारका अनुसार ९८ हजार ६ सय ३० वटा मोटरसाइकल आयात भएको छ । जबकि गतवर्ष ११ महिनाको अवधिमा जम्मा ५७ हजार ९९ सय ४० वटा मोटरसाइकल त आयात गरिएको थियो ।
यस वर्ष मोटरसाइकलको आयातबाट भएको राजश्व असुलीमा पनि आ.व ७६÷७७ को जेठ मसान्तसम्मको तुलनामा ६९ प्रतिशतले वृद्धि भएको छ । भन्सार नाकाबाट ८ अर्ब ६६३ करोडको मोटरसाइकल आयात हुँदा १० अर्ब८९ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।
गत वर्षको जेठ महिनाकै तुलनामा पनि यसवर्ष जेठमा मोटरसाइकल आयात ५२० प्रतिशतले बढ्दा मोटरसाइकलको राजश्व संकलन पनि ४०८ प्रतिशतले उकालो लागेको छ । गत वर्ष जेठ महिनामा जम्मा १ हजार ५ सय ८६ मोटरसाइकल आयात भएकोमा यसवर्षको जेठमा ९ हजार ८ सय ३५ वटा मोटरसाइकल भित्रिएको छ ।
अर्को रोचक पक्ष के छ भने साइकल चढ्नेको संख्या पनि कोरोना महामारीको कारण बढेको छ । साइकलको आयात ४९ प्रतिशतले बढेको छ ।
आ. व. ७७÷७८ को जेठ महिनासम्ममा ८४ हजार ३ सय ४२ थान साइकल, ट्राइसाइकल र डेलिभरी साइकल आयात हुँदा जेठ महिनामै ३ हजार ४ सय ४४ थान आयात भएको थियो ।