फाइल तस्बिर
वीरगञ्ज १४ असार । "चाउचाउ" पूर्वमेची देखि पश्चिम महाकालीसम्म उत्तरमा सगरमाथादेखि दक्षिण सिराहासम्म नै परिचित तयारी खाजा हो । सहज उपलब्धता, स्वाद र सस्तो मूल्यको कारण यसको उपभोग गर्ने संख्या बढ्दै गएको छ।
तर पछिल्लो चार वर्ष यसको माग बढ्दै गएकोमा गत वर्ष चाहिँ यसको उपभोग ओरालो लागेको छ। विश्व तयारी चाउचाउ उत्पादक संघका अनुसार सन् २०२० मा नेपालमा चाउचाउको कूल उपभोग १.५४ अर्ब सर्भिङ (भाग, हिस्सा) रहेको थियो। यो सन् २०१९ को तुलनामा ६ प्रतिशतले ह्रास आएको हो ।
एक पटकमा एकजनालाई पस्किने चाउचाउको परिमाणलाई सर्भिङ भनिन्छ। एक पोका चाउचाउमा कति सर्भिङको मात्रा हुन्छ भन्ने कुरा चाउचाउको प्याकेटमा उल्लेख गरिएको हुन्छ।
कोरोनाको कारण गतवर्षदेखि नै दिनचर्या प्रभावित भएको र चाउचाउ लगायतका खाजा स्वास्थ्यको दृष्टिकोणले लाभदायक नहुने भएकोले उपभोक्ताको प्राथमिकतामा नपरेकोले उपभोग घटेको हो ।
विश्व तयारी चाउचाउ उत्पादक संघले जारी गरेको तथ्यांक अनुसार सन् २०१९ मा नेपालको उपभोग दर १.६४ अर्ब सर्भिङ रहेको थियो । कूल उपभोगको आधारमा नेपाल विश्वको १४ औं स्थानमा रहेको छ।
त्यसैगरी प्रति व्यक्ति उपभोग दरको हिसाबले नेपाल विश्वकै तेस्रो स्थानमा रहेको छ। यहाँ प्रति व्यक्ति वार्षिक उपभोग ५३.३ सर्भिङ रहेको छ। प्रति व्यक्ति उपभोगको आधारमा सर्वाधिक ७९.७ सर्भिङको साथ कोरिया पहिलो र ७२.२ सर्भिङको साथ भियतनाम दोश्रो स्थानमा रहेको छ।
चाउचाउको उपभोगको दरले विश्वको मुख्य १५ वटा मुलुकमध्ये ८० प्रतिशत अर्थात १० वटा एशियाली मुलुक रहेका छन्।