×

वीरगञ्ज २ असार । पटक पटक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड पुन: कारवाहीमा पर्ने संभावना देखिएको छ।

बैंकको संस्थापकहरुको चलखेलका कारण अस्वाभाविकरुपमा दोश्रो बजारमा यो बैंकको शेयर भाउ बढेपछि कारवाहीको तयारी गरिएको हो । शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले ५१ वटा कम्पनीको संचालकहरुबाट भितरिया सूचना बजारमा पुर्याएको आशंकामा छानबिन शुरू गर्नको लागि सार्वजनिक गरेको सूचीमा १ नम्बरमै कर्पोरेट डेभलपमेण्ट बैंकको नाम रहेको छ।

बैंक अंसारी एण्ड कम्पनीको कब्जामा 


अहिले यो बैंकको बहुमत संस्थापक शेयर नेशनल मेडिकल कलेजका साहू डाक्टर जैनुदि्दन अंसारी एण्ड कम्पनी परिवारको नियन्त्रणमा रहेको छ।
बैंकको ६ सदस्यीय संचालक समितिमध्ये ३ जना अंसारी दाजुभाई नै छ। जसमध्ये अध्यक्ष डा. जैनुदि्दन अंसारी, संचालकहरु बसरुदि्दन अंसारी संचालक र नसिरुदि्दन अंसारी हुन्। बाँकी ३ जनामध्ये दुईजना मारवाडी समुदायका
व्यापारी र एकजना महिला संचालक रहेका छन्।

प्रति शेयर आम्दानी रु. ५ , शेयर मूल्य सर्वाधिक महँगो !

प्रति शेयर आम्दानी जम्मा रु.५ रहेको यो बैंकको दोश्रो बजारमा शेयर मूल्य भने रु.७०९ रहेको छ। लामो समयसम्म घाटामा रहेको र सीमित कार्यक्षेत्र भएपनि हरेक वर्ष २० प्रतिशतभन्दा बढी लाभांश बाँड्ने राष्ट्रिय स्तरको विकास बैंक भन्दा पनि कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर भाउ महंगो बनाइएको छ।

संस्थापक शेयर खरिद गर्दा आफ्नो आसेपासेको नाममा साधारण शेयर सस्तोमा उठाउने अनि बजारमा भितरिया कुरा चुहाएर वा अफवाह फैलाएर शेयरको भाउ बढाउने काम हुन्छ। सस्तोमा किनेको शेयर हल्लैहल्लामा भाउ बढाएर सर्वसाधारणलाई टोपी लगाउने काम भएको ठम्याई सहित धितोपत्र बोर्डले कारवाहीको लागि थप प्रमाण संकलन गर्न अनुसन्धान शुरु गरेको हो।

राइट शेयरको लागि अझै सम्म पाएन अनुमति

यो बैंकले २०७७ पुस २६ गते नै १ शेयर बराबर डेढ शेयर अग्राधिकार शेयर (राइट शेयर) जारी गर्नको लागि बैंकले  धितो पत्र बोर्डमा निवेदन दर्ता गरेको थियो। तर यो सूचना बोर्डले २०७७ माघ ६ गते मात्रै सार्वजनिक गरेको भएपनि पुस २६ गतेदेखि नै बैंकको शेयर मूल्यमा चलखेल शुरु भइसकेको थियो। पुस २६ देखि १० दिनभित्रै दोश्रो बजारमा यसको शेयर मूल्य १३५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

हाल रु.२० करोड चुक्ता पूँजी रहेकोमा रु. ३० करोडको राइट शेयर जारी गरेर चुक्ता पूँजी रु. ५० करोड पुर्याउन निवेदन दिएको हो। तर अहिले सम्म पनि बोर्डले राइट शेयर जारी गर्न स्वीकृति दिए/नदिएको सूचना सार्वजनिक भएको छैन।

कहिले घोषित भएको थियो संकटग्रस्त ?

नेपाल राष्ट्र बैंकले छानबिनको क्रममा व्यापक घोटाला भएको थाहा पाएपछि २०७० भदौमा शिघ्र सुधारात्मक कारवाही गरेको थियो। लगत्तै राष्ट्र बैंकले २०७१ पुुस महिनामा बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो। त्यसलगत्तै दोश्रो बजारमा रोक्का भएको यसको शेयर कारोबार २०७४ चैतदेखि मात्र फुकुवा भएको थियो।

लामो समयसम्म बैंकिङ कारोबारमा रोक लगाइएपछि अंसारी परिवारले एकदमै सस्तो मूल्यमा बैंकको संस्थापक शेयर हतियाएको हो । चुक्ता मूल्य रु.१०० को शेयर त्यो भन्दा पनि सस्तो ‌मूल्यमा सकारेको हो।

पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी समेत  जम्मा पाँचवटा जिल्लामा कारोबार गर्ने लाइसेन्स पाएकोमा पर्सा जिल्लामा मात्र यसको शाखा कार्यालय रहेको छ।

Back to top