×

वीरगञ्ज, २० जेठ । खाने तेलको मूल्य बढ्दै गएपछि भारतीय उद्योगीहरुले नेपालबाट पाम र भटमास (सोयाबिन) तेल अवैध रुपमा भारततर्फ निर्यात भइरहेको आरोप लगाएका छन् । 

भारतमा वनस्पति घ्यू उत्पादन गर्दै आएका उद्योगी व्यवसायीहरुको सबैभन्दा पुरानो छाता सङ्गठन सोलभन्ट एक्सट्रैक्टर्स एसोसिएसन (एसईए) ले भारतको केन्द्रीय सरकारलाई एउटा पत्र लेख्दै नेपालले सुन्य आयात करको फाईदा उठाउँदै र उत्पत्तिको ठाउँ (कन्ट्री अफ ओरिजिन)को नियमलाई उलंघन गर्दै तेस्रो मुलुकमा उत्पादित सोयाबिन र पाम आयललाई भारत तर्फ निर्यात गरिरहेको आरोप लगाएका हुन् ।

सार्कका ५ वटा अल्पविकसित मुलुकहरुले भारतमा केही खाद्य वस्तु निर्यात गर्नका लागि सन २०११ देखि भन्सार महसुलमा पूर्णरुपमा छुट पाइरहेका छन् । त्यसैको फाइदा लिँदै नेपालले विदेशबाट आयात गरेको सोयाबिन र पाम आयल भारतमा निर्यात गरी बजारमा कब्जा जमाउन थालेको उनीहरुको आरोप छ ।

एसईएले नेपालबाट यसरीनै सोयाबिन र पाम आयल निर्यात भए पूर्वी र उत्तरी भारत तेल उद्योग र कृषक धरापमा पर्ने र सरकारलाई ठूलो राजस्व घाटा पनि लाग्ने निस्कर्ष निकालेका छन् ।

उद्योगीहरुका अनुसार सार्कले दिएको छुटको फाइदा उठाउँदै नेपालले अन्य मुलुकमा उत्पादित तेल आयात गरेर रीप्याकेजीङ गरी भारत पठाउने गरेको छ । उनीहरुका अनुसार नेपालसँग निर्यात गरिने मात्राको तेल उत्पादन गर्ने क्षमता छैन ।

"नेपालबाट आयात हुने पाल्मोलिन इन्डोनेसिया र मलेसिया मूलका हुन् र सोयाबीन तेल दक्षिण अमेरिका मूलबाट आएको हुन् । त्यस्ता आयातमा लाग्ने शुल्क छुट पाउनका लागि नेपालका उद्योगीहरुले कन्ट्री अफ ओरिजिनको नियमहरु उलंघन गर्दै भारतमा खाने तेल निर्यात गर्ने गरेको छ । नेपालसँग निर्यात गर्ने मात्राको तेल उप्तादन गर्न क्षमता छैन र पाम तेल त्यहाँ उत्पादन पनि हुँदैन," उद्योगीहरुले सरकारलाई लेखेको पत्रमा उल्लेख छ ।

यसअघि नेपालबाट ठूलो मात्रामा पाम आयल भारत निर्यात हुने गरेकोमा भारत सरकारले गत वर्ष पुस २३ गते त्यसमा प्रतिबन्ध लगाएको थियो । अहिले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा पर्दछ ।

Back to top