वीरगञ्ज, २४ बैशाख । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई कारवाही गर्न माग गरेका छन् ।
कोरोनाभाइरस महामारीको चपेटमा परेका विरामीहरुको उपचारमा अत्यावश्यक मानिने औषधी रेम्डीसिभिर इन्जेक्सन अस्पतालसँग मौजदात हुँदाहुँदै पनि मेसु डा. ठाकुरले विरामीको उपचारमा नचलाएको आरोप लगाउँदै सांसद् यादवले उनलाई कारवाही गर्न माग गरेका हुन् ।
सासंद् यादवका अनुसार नेपाल सरकारले बैशाख २३ गते नारायणी अस्पताललाई कोरोनाभाइरसबाट सङ्क्रमित नाजुक अवस्थाका विरामीको उपचारमा प्रयोगग गर्न १ सय ५० थान रेम्डीसिभिर इन्जेक्सन उपलब्ध गराएको छ । तर, मेसु डा. ठाकुरको गैरजिम्मेवारीपूर्ण कार्यशैलीका कारण औषधी विरामीको उपचारमा नचलाइएको उनको भनाई छ ।
यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत आज एउटा पोष्ट लेख्दै डा. ठाकुरलाई कारवाही गर्न माग गरेका छन् ।
नागरिकको जिवनसँग खेलवाड गर्ने नरायणी अस्पतालको प्रमुखलाई तत्काल कारवाहीको दायरामा ल्याई गम्भीर किसिमको विरामीको उपचारमा रेम्डिसिभिर चलाउन सम्बन्धीत निकायसँग सांसद् यादवले समेत अनुरोध गरेका छन् ।
यता, नारायणी अस्पतालका फार्मेसी अधिकृत हरिन्द्र यादवले सरकारले रेम्डीसिभिर पठाएको घोषणा गरेपनि अस्पतालमा नआईपुगेको बताए । उनेल रेम्डीसिभिर आउने प्रक्रिया अघि बढीसकेको र भोलीपर्सिसम्म अस्पताल आईपुग्ने जानकारी दिए ।
यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरसँग सम्पर्क गर्न खोज्दा उनको फोन लागेन । अस्पताल स्रोत अनुसार अहिले अस्पताललाई दर्जनौ सङ्क्रमित रेम्डीसिभिर औषधी नपाएर विचल्लीमा छन् ।
अस्पताल स्रोतका अनुसार मेसु ठाकुरले अस्पतालमा आएको रेम्डेसिभिर बिरामीलाई नदिएर आफ्ना आसेपासेमार्फत महंगो दरमा बिक्रि गरेको बुझिएको छ ।