×

वीरगञ्ज । सामाजिक सञ्जालमा भएको आपसी विवादपछि पक्राउ परेका दुई जनामध्ये विद्यार्थी नेता सञ्जय यादवलाई अनावश्यक रूपमा फसाइएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साले आपत्ति जनाएको छ ।

अनेरास्ववियु पर्सा जिल्ला अध्यक्ष सुजीत मण्डलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा दीपेन्द्र गुप्ता र अनेरास्ववियुका जिल्ला सहसचिव सञ्जय यादवबिच केही दिनअघि विवाद भएको थियो । सोही विषयलाई लिएर शुक्रवार उनीहरूबिच सार्वजनिक स्थलमा पुनः भनाभन तथा विवाद हुँदा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको जनाइएको छ ।

विज्ञप्तिमा पक्राउ परेका दीपेन्द्र गुप्ताको प्रहरीसँग विगतदेखि सम्बन्ध राम्रो नरहेको उल्लेख गर्दै उक्त घटनामा विद्यार्थी नेता यादवलाई समेत अनावश्यक रूपमा जोड्ने तथा फसाउने प्रयास भएको आशङ्का व्यक्त गरिएको छ । यदि त्यस्तो भएको पुष्टि भएमा त्यो निष्पक्ष न्याय र कानुनी प्रक्रियाको मर्म विपरीत हुने सङ्गठनको भनाइ छ ।

अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिन सम्बन्धित निकायसँग माग गरेको छ । साथै, विद्यार्थी नेता सञ्जय यादवलाई अनावश्यक रूपमा फसाइएको पुष्टि भएमा तत्काल रिहा गर्न र न्यायोचित व्यवहार गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान नदिएमा तथा यादवलाई तत्काल रिहा नगरिएमा लोकतान्त्रिक एवं शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

Back to top