एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।
वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका अधिवेशन गम्भीर विवादमा परेको छ । सभापति पदका आकाङ्क्षीहरूलाई जानकारी नै नदिई ११ सदस्यीय गाउँपालिका समिति गठन गरिएको भन्दै स्थानीय तहमा तीव्र असन्तुष्टि देखिएको हो ।
स्थानीय स्रोतका अनुसार अधिवेशनअघि नै क्षेत्रीय सभापतिसँगको मिलेमतोमा समिति गठन गर्ने तयारी गरिएको थियो । सभापति पदका दाबेदारहरूलाई औपचारिक जानकारी नदिई तथा खुला प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रिया अवलम्बन नगरी एकलौटी रूपमा ११ सदस्यीय समिति गठन गरी नाम सिफारिस गरिएको आरोप लागेको छ ।
स्थानीय कार्यकर्ताहरूका अनुसार, अधिवेशनको मिति, उम्मेदवारी दर्ता प्रक्रिया तथा मतदान विधिबारे स्पष्ट सूचना नदिइएको कारण धेरै आकाङ्क्षीहरू प्रक्रियाबाट बाहिरिएका थिए । “हामीलाई अधिवेशनको औपचारिक कार्यक्रम र उम्मेदवारीबारे कुनै स्पष्ट जानकारी दिइएन । अन्तिम समयमा एक्कासि समिति घोषणा गरियो,” एक स्थानीय कार्यकर्ताले नाम नखुलाउने सर्तमा भने।
यसअघि जनता समाजवादी पार्टी नेपालमा आबद्ध रहेर भ्रष्टाचारसम्बन्धी आरोप लागेका दीपक कुमार यादव पक्षले श्रीराम गिरी पक्षलाई जानकारी नै नदिई समिति गठन प्रक्रिया अगाडि बढाएको आरोप लागेको छ । गिरी पक्ष निकट कार्यकर्ताहरूले निष्पक्ष निर्वाचन नभई ‘पूर्वनिर्धारित निर्णय’ सार्वजनिक गरिएको दाबी गरेका छन् ।
असन्तुष्ट कार्यकर्ताहरूले पार्टीको विधान र आन्तरिक लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको आरोप लगाउँदै पारदर्शिता, निष्पक्षता र विधिसम्मत प्रक्रिया अपनाउन माग गरेका छन् । उनीहरूले पुनः अधिवेशन गरिनुपर्ने वा कम्तीमा पनि छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।
“रास्वपा परिवर्तनको एजेन्डा लिएर आएको पार्टी हो । यदि आफ्नै सङ्गठनभित्र पारदर्शिता र लोकतन्त्र कायम हुन सकेन भने कार्यकर्ताको मनोबल कमजोर हुन्छ,” एक कार्यकर्ताले प्रतिक्रिया दिए ।
यस विषयमा आरोपित पक्ष तथा क्षेत्रीय नेतृत्वको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । पार्टीका जिम्मेवार पदाधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताइएको छ ।