वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साभित्र देखिएको आन्तरिक शक्ति संघर्ष अब सार्वजनिक विवाद र कुटाकुटको घटनासम्म पुगेको छ। पार्टीको जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रियालाई लिएर दुई समूहबीचको विवाद तीव्र बन्दै गएको हो।
पार्टी स्रोतका अनुसार पर्साका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील साह, क्षेत्र नं. ३ का रमाकान्त रौनियार तथा क्षेत्र नं. ४ का टेकबहादुर शाक्य एक पक्षमा देखिएका छन् भने क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा रास्वपा पर्साका अध्यक्ष हरि पन्त अर्का पक्षको नेतृत्व गरिरहेका छन्।
हालै वीरगञ्ज महानगरपालिकामा सम्पन्न पार्टीको निर्वाचनमा अध्यक्ष पन्त समूहले पराजय व्यहोरेको बताइएको छ। केही पदाधिकारी पदमा सफलता प्राप्त गरे पनि अध्यक्षसहित अधिकांश सदस्य पदमा पन्त इतर समूह विजयी भएको जनाइएको छ।
रास्वपा पर्साको स्थापनाकालदेखि सक्रिय रहेका महादेव प्रसाद कुर्मीले निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार अध्यक्ष हरि पन्तले आफूखुसी मतदाता नामावली तयार गरी निर्वाचनलाई प्रभावित गर्न खोजेको आशंका भएपछि उनले वीरगञ्जस्थित होटल गेटवेमा रहेको निर्वाचन समितिसमक्ष ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।
कुर्मीका अनुसार त्यसपछि निर्वाचन समितिकी सदस्य राधिका न्यौपानेले मतदाता नामावलीमाथि छानबिन आवश्यक रहेको जनाउँदै दिउँसो १ बजेर १८ मिनेटमा सूचना जारी गरी निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी दिएकी थिइन्। तर केही घण्टापछि भित्रभित्रै मनोनयन प्रक्रिया अघि बढाइएको जानकारी पाएपछि आफूले विरोध जनाउँदा पन्त समूहका कार्यकर्ताबाट आफूमाथि आक्रमण भएको उनको आरोप छ।
विवाद चर्किरहेका बेला निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले साँझ एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
यता निर्वाचन प्रक्रिया स्थगनसम्बन्धी राधिका न्यौपानेको नामबाट जारी गरिएको पत्रबारे थप जानकारी लिन सञ्चारकर्मीहरूले निर्वाचन समितिका संयोजक डा. यादवसँग सम्पर्क गर्दा उनले उक्त पत्रबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले भने, “कसैले कुनै पत्र जारी गरेको विषयमा मलाई जानकारी छैन।”
निर्वाचन समितिका सदस्यको नामबाट सार्वजनिक भएको पत्रबारे स्वयं निर्वाचन संयोजकले अनभिज्ञता जनाएपछि रास्वपा पर्साको जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ। पार्टीभित्रको विवाद, निर्वाचन प्रक्रिया स्थगन र एकअर्कामाथिका आरोप–प्रत्यारोपले रास्वपा पर्साको संगठनात्मक गतिविधि थप अन्योलग्रस्त बनेको स्थानीय नेताहरूको भनाइ छ।
घटनाबारे सम्बन्धित पक्षहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।