×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रथम गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ ।

समता समाज नेपाल पटेर्वा सुगौलीको आयोजनामा यही माघ १७ गतेदेखि गोल्ड कप प्रतियोगिताको आयोजना हुनेभएको हो । 

प्रतियोगिता बारे जानकारी गराउन समाजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनमा आयोजक संस्थाले प्रतियोगिता बारे जानकारी गराएका थिए ।

प्रतियोगितामा नेपालको विभिन्न स्थानबाट १२ वटा टिमहरुले सहभागिता जनाउँने आयोजक संस्थाले जनाएको छ ।

सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले युवाहरुलाई खेलकुद तर्फ आकर्षित गर्न र पर्सालाई एकपटक फेरी खेलकुदको हव बनाउँन यस्ता प्रतियोगिताको आयोजना गर्ने आवश्यक रहेको बताएका थिए । उनले गाउँपालिकाले युवाहरुलाई खेलकुदको लागि आवश्यक पर्ने प्रत्येक सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

आयोजक संस्थाक अध्यक्ष मधुकान्त प्रसाद चौधरीको सभापतित्वामा कार्यक्रम सम्पन्न भएको सचीव नवलकिशोर साहले जानकारी दिए ।

Back to top