×

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

प्याब्सनमा आबद्ध विद्यालयहरूबाट उत्कृष्ट अङ्क ल्याई सफल भएका विद्यार्थीहरूलाई एक समारोहबिच प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

वीरगञ्जस्थित होटेल वृन्दावनमा आयोजित “एसइई टपर्स सम्मान कार्यक्रम–२०८३” मा प्याब्सन पर्सासँग आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरूको उपलब्धिलाई कदर गर्दै उनीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने सहभागी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गरे । उनले परिश्रम, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक र प्रेरणादायी अभ्यास भएको उल्लेख गर्दै यसले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्य निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । उनले सामुदायिक र निजी विद्यालयबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा पनि राखे ।

अध्यक्ष सरोज चौधरीले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू, उनीहरूका अभिभावक तथा शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै प्याब्सन पर्साले शैक्षिक गुणस्तर अभिवृद्धि र उत्कृष्टतालाई प्रोत्साहन गर्न निरन्तर पहल गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

कार्यक्रममा सम्मानित विद्यार्थीहरूले आफूहरूको उपलब्धिमा विद्यालय, शिक्षक तथा अभिभावकको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए । उनीहरूले भविष्यमा अझै उच्च शिक्षा हासिल गरी देश र समाजका लागि योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्याब्सन पर्साले प्रत्येक वर्ष एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको जनाएको छ । यस वर्षको कार्यक्रम पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, जिल्ला सचिव अशोक सङ्ग्रौला, अमित आलोक, शर्मानन्द कुशवाहा, प्रकाश उपाध्यायलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Back to top