×

वीरगञ्ज । हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी छन्। यससँगै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

अञ्जलीको उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठालाई राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याएको भन्दै कलेज प्रशासनले खुसी व्यक्त गरेको छ।

कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यो सफलता कलेजको गुणस्तरीय शैक्षिक वातावरण, अनुभवी शिक्षकको मार्गदर्शन र विद्यार्थीको निरन्तर मेहनतको प्रतिफल भएको बताए।

हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाएको भन्दै उनको सम्मानमा एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिए।

अञ्जलीको सफलता मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरण भएको कलेज प्रशासनको भनाइ छ। कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्।

हरिखेतान बहुमुखी कलेजले यस सफलताले सामुदायिक क्याम्पसहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने सन्देश दिएको जनाएको छ।

Back to top