×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सोमबार वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै स्वास्थ्य संस्थामा हुने हिंसात्मक घटनाको भर्त्सना गरेका छन्। प्रदर्शनकारीहरूले दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

यसअघि आइतबार रातिदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आक्रमणको विरोधस्वरूप नारायणी अस्पतालको आकस्मिक कक्ष (इमरजेन्सी) सेवा बन्द गरेका छन्। उनीहरूले अस्पतालमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले उपचारमा संलग्न चिकित्सकमाथि भएको आक्रमणले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई नै असुरक्षित बनाएको बताएका छन्। उनीहरूले स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि रोक्न प्रभावकारी सुरक्षा व्यवस्था, दोषीमाथि कडा कानुनी कारबाही तथा स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्यकर्मीहरूले सरकारले चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सिर्जना गर्नुपर्ने मागसमेत गरेका छन्।

Back to top