एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले अस्पतालमा भएको आक्रमण तथा तोडफोड घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले सोमबार जारी गरेको विज्ञप्तिमा घटनासम्बन्धी सीसीटीभी फुटेज सम्बन्धित निकायलाई उपलब्ध गराइसकिएको उल्लेख गर्दै फुटेजका आधारमा दोषीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरेका छन्।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ५० वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड हुनुका साथै चिकित्सकमाथि आक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार उक्त आक्रमणमा डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको हाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मी घटना पश्चात् मानसिक र शारीरिक रूपमा त्रसित भएकाले अस्पतालको सेवा प्रवाह प्रभावित भएको उल्लेख गरिएको छ। पर्याप्त सुरक्षा अभावका कारण अस्पतालका अधिकांश विभागको नियमित सेवा सञ्चालनमा समस्या आएको अस्पतालले जनाएको छ।
घटनापछि पीडित पक्ष र अस्पताल प्रशासनबीच घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने सहमति भएको अस्पतालले जनाएको छ। साथै, घटना भएको समयमा आकस्मिक कक्षमा कार्यरत केही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छानबिन अवधिसम्म निलम्बन गर्ने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै नारायणी अस्पतालसहित विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आन्दोलन र विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
अस्पताल प्रशासनले स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ।