वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा शंकास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्त तथा विभिन्न सरोकारवालाले सोमबार वीरगञ्जमा प्रदर्शन गरेका छन्।
मृतक लक्ष्मी खड्काको माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन तथा ऐक्यबद्धता कार्यक्रम आयोजना गरेको हो।
प्रदर्शनकारीहरूले “लक्ष्मी खड्कालाई न्याय दे”, “हत्यारालाई कारबाही गर”, “तस्बिरहरू आफैं बोल्छन्”, “तस्बिरमाथि छानबिन होस्”, “घटनाको विवरण सार्वजनिक गर” र “निष्पक्ष जाँचबुझ समिति गठन गर” लगायत ११ बुँदे माग अघि सारेका थिए।
वीरगञ्ज बसपार्कबाट सुरु भएको विरोध र्याली घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म न्यायका लागि आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
कार्यक्रममा सहभागी युवा अभियन्ता धिरसिंह घिमिरेका अनुसार प्रदर्शनको उद्देश्य घटनाको सत्यतथ्य सार्वजनिक गराउनु र पीडित परिवारलाई न्याय दिलाउनु रहेको छ।
मृतक लक्ष्मी खड्काका आफन्तले घटनामा उनका श्रीमान् सुधीर सिलवालको परिवारको संलग्नता रहेको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपको आधिकारिक पुष्टि भने अनुसन्धानबाट हुन बाँकी रहेको छ।
दुई सन्तानकी आमा लक्ष्मी खड्का आफ्नै घर नजिक रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको प्रकृति शंकास्पद रहेको भन्दै ठोरी गाउँपालिका–३ स्थित माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै वीरगञ्जमा दबाबमूलक प्रदर्शन गरेका हुन्।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने भएकाले सम्बन्धित निकायले निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्नुपर्ने माग प्रदर्शनकारीहरूले दोहोर्याएका छन्।