×

वीरगञ्ज। राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

अभियानमा सहभागीहरूले उक्त निर्णय जनअपेक्षा र सुशासनको भावना विपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

अभियानका प्रतिनिधिहरूले सांसदका लागि स्वकीय सचिव नियुक्त गर्ने निर्णय जेनजी आन्दोलनको मर्म, भावना र सुशासनको मूल उद्देश्यविपरीत रहेको दाबी गरेका छन्। उनीहरूले राज्यकोषमा थप आर्थिक भार पार्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

राष्ट्रिय जेनजी नागरिक अभियानले सार्वजनिक खर्च बढाउने तथा जनभावनाविपरीत हुने निर्णयहरू सच्याउन सरकारलाई आग्रह गर्दै यस्ता विषयमा निरन्तर खबरदारी गर्ने जनाएको छ।

Back to top