×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। त्रिभुवन राजपथअन्तर्गत नेपाल–भारत मैत्री पुलदेखि गण्डक नहर चोकसम्म सडक मापदण्डअनुसार सीमा संरक्षण तथा विद्युत् संरचना व्यवस्थापनको काम हुने भएकाले वीरगञ्जका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार साउन ९ र १० गते बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

वितरण केन्द्रका अनुसार वीरगञ्ज सबस्टेसनबाट प्रसारण हुने घण्टाघर, सीडीओ कार्यालय, माइस्थान, घडिअर्वा, लोहर्पट्टी, रानीसती, एसबीआई बैंक तथा राष्ट्रिय वाणिज्य बैंक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

सडक मापदण्डभित्र परेका विद्युत् लाइन तथा केबुलको मर्मत, सुधार र व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मर्मत कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भए विद्युत् आपूर्ति तत्काल पुनः सञ्चालन गरिनेछ। प्राविधिक कारणवश काममा ढिलाइ भए आवश्यकताअनुसार विद्युत् अवरोधको समय थप हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले विद्युत् अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक तयारी गर्न तथा सहयोग गरिदिन सबै ग्राहकवर्गसँग अनुरोध गरेको छ।

Back to top