×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखसहित दुई कर्मचारीलाई ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिभिजन कार्यालय परिसरस्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट शुक्रबार उनीहरूलाई नगद घुस रकमसहित नियन्त्रणमा लिइएको हो।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस मागेको र लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

उजुरीपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले सेवाग्राहीबाट लिएको घुस रकमसहित दुवै कर्मचारीलाई रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कर्मचारीहरूको साथबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल फोन समेत बरामद भएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

Back to top