एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
पछिल्ला केही दिनयता मधेश प्रदेशमा लागुऔषध तस्करीविरुद्ध प्रहरीले अपनाएको रणनीति झन् आक्रामक बन्दै गएको छ। प्रहरीलाई चुनौती दिँदै भाग्ने, प्रतिकार गर्ने र सीमापारबाट संगठित रूपमा भइरहेको लागुऔषध कारोबार नियन्त्रणका क्रममा अब प्रहरी गोली चलाउनसमेत बाध्य हुन थालेको छ।
बिहीबार सिरहाको लहान र शुक्रबार धनुषाको ढल्केवरमा भएका दुई छुट्टाछुट्टै घटनाले मधेशमा लागुऔषध कारोबार कति गम्भीर अवस्थामा पुगेको छ भन्ने स्पष्ट संकेत दिएका छन्। यी घटना केवल दुई जिल्लामा भएका प्रहरी कारबाही मात्र होइनन्, खुला सीमाको दुरुपयोग गर्दै फैलिएको अन्तरदेशीय लागुऔषध सञ्जालविरुद्धको संघर्षको प्रतिनिधि चित्र पनि हुन्।
३० घण्टाभित्र दुई ठाउँमा गोली
शुक्रबार धनुषाको मिथिला नगरपालिका–स्थित ढल्केवरमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा अपरेशन सञ्चालन गर्यो। प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि प्रहरीले गोली चलाएर भारतको बिहारका दुई जनालाई पक्राउ गर्यो। उनीहरूको साथबाट करिब ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद भयो।
त्यसको अघिल्लो दिन सिरहाको लहान अस्पताल चोकमा प्रहरीले सात राउन्ड गोली चलाएर २४३ ग्राम ब्राउन सुगरसहित छ जनालाई नियन्त्रणमा लियो। पक्राउ परेकामध्ये पाँच जना भारतीय र एक जना नेपाली थिए। प्रतिकार र भाग्ने प्रयासपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ। यी दुई घटनाले अब लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चेतावनी मात्रै होइन, आवश्यक पर्दा गोलीसमेत चलाउने नीति अपनाउन थालेको देखिन्छ।
तीन दिनमा हजारौँ किलो गाँजा बरामद
सिरहा र सप्तरीमा केही घण्टाको अन्तरमै प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्यो। सिरहाको लहानमा नास्पाती बोकेको पिकअपभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा फेला पर्यो। त्यसमा संलग्न तीन जनालाई पक्राउ गरियो। त्यसको केही घण्टापछि सप्तरीको तिलाठी–कोइलाडीबाट प्रहरीले तीन वटा सवारीसाधनबाट ३ हजार ३३२ किलो गाँजा बरामद गर्यो। चालकहरू भने फरार भए। यसले लागुऔषध ओसारपसार व्यक्तिगत स्तरमा मात्र नभई संगठित नेटवर्कमार्फत भइरहेको संकेत गर्छ।
खुला सीमा : सबैभन्दा ठूलो चुनौती
मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा भारतसँग खुला सीमाले जोडिएका जिल्ला हुन्। यही खुला सीमालाई प्रयोग गर्दै लागुऔषधको तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ। प्रहरी अधिकारीहरूका अनुसार सीमामा रहेका साना बाटो, सुरक्षाकर्मीको कम उपस्थिति भएका क्षेत्र तथा स्थानीय नेटवर्क प्रयोग गरेर लागुऔषध नेपाल भित्र्याउने र नेपाल हुँदै अन्यत्र पुर्याउने क्रम बढ्दो छ। विशेषगरी भारतको बिहार राज्यसँग जोडिएका सीमावर्ती क्षेत्र अहिले लागुऔषध कारोबारीहरूको प्रमुख ट्रान्जिट रुटका रूपमा प्रयोग भइरहेको देखिएको छ।
तथ्यांकले देखाएको गम्भीर अवस्था
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै लागुऔषध मुद्दामा ८७१ जना पक्राउ परेका छन्। सो अवधिमा ६३० वटा मुद्दा दर्ता भएका छन्। बरामद गरिएको लागुऔषधको परिमाण पनि चिन्ताजनक छ। गाँजा : १५,३८२ किलोग्राम, हेरोइन : २,८३१ ग्राम, ब्राउन सुगर : ५१६ ग्राम, चरेस : २७२ किलोग्राम, अफिम : ३ किलोग्राम, ट्याब्लेट : ४ लाख ७३ हजारभन्दा बढी, सिरप : २,११८ बोतल, इन्जेक्सन : १८ हजारभन्दा बढी पछिल्ला तीन आर्थिक वर्षमा मात्रै २ हजार ८११ जना पक्राउ परेका छन् भने २ हजार १२ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्।
कारोबार मात्रै होइन, सामाजिक संकट पनि
लागुऔषध समस्या अहिले तस्करीमा मात्र सीमित छैन। मधेशमा बालबालिका, किशोरकिशोरी र युवाहरू लागुऔषध दुर्व्यसनतर्फ आकर्षित हुँदै गएको प्रहरी स्वयं स्वीकार गर्छ। लागुऔषध सेवनकै कारण चोरी, लुटपाट, हत्या, घरेलु हिंसा लगायतका गम्भीर अपराध बढ्दै गएको देखिन्छ। कतिपय परिवारमा आर्थिक, सामाजिक र मानसिक संकटको मुख्य कारण नै लागुऔषध बनेको छ।
प्रहरीले स्वीकारेको चुनौती
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार खुला सीमा, दुर्गम क्षेत्रमा हुने गाँजा खेती तथा संगठित तस्करी सञ्जालका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बनेको छ। उनका अनुसार प्रहरीले नियमित रूपमा सर्च अपरेशन, खानतलासी र विशेष निगरानी गर्दै आएको भए पनि सेवनकर्ता र तस्करी सञ्जाल अपेक्षित रूपमा घटाउन अझै सफल हुन सकेको छैन। यसका लागि विद्यालय, अभिभावक, स्थानीय समुदाय र युवालाई सहभागी गराएर जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
समाधान प्रहरीको मात्रै जिम्मेवारी होइन
लागुऔषध नियन्त्रण केवल प्रहरीको अभियानबाट मात्र सम्भव छैन। खुला सीमामा प्रभावकारी समन्वय, सीमावर्ती क्षेत्रमा निगरानी सुदृढीकरण, विद्यालयस्तरदेखि नै सचेतना, परिवारको निगरानी, स्थानीय सरकारको सक्रियता तथा समुदायको सहभागिता बिना यो समस्या नियन्त्रण गर्न कठिन देखिन्छ।
मधेश अहिले लागुऔषध तस्करीको ट्रान्जिट र दुर्व्यसनको जोखिम दुवैसँग जुधिरहेको छ। पछिल्ला दिनमा प्रहरीले देखाएको आक्रामक कारबाहीले तत्काल केही सफलता दिलाउन सक्छ, तर दीर्घकालीन समाधानका लागि कानुनी कारबाहीसँगै रोकथाम, पुनःस्थापना र व्यापक सामाजिक सचेतना आवश्यक देखिन्छ। गोली चलाएर तस्कर समात्नु अन्तिम उपाय हुन सक्छ, तर लागुऔषधमुक्त समाज निर्माणका लागि राज्य, समाज र परिवार सबैको साझा प्रयास अपरिहार्य छ।