×

श्रीमद्भागवत गीता, अध्याय ५, श्लोक

अर्जुन सोध्छन्

संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम्॥

सम्बन्धको भुमरीमा परेर धर्म र धर्मानुकुल कर्म छुट्याउन न सकेको अवस्थामा अर्जुनले महाभारत युद्ध भूमिमा आफ्नै सारथिको रूपमा सहायता गरिरहेका परब्रह्म श्री कृष्णलाई गरेका प्रश्न र श्री कृष्णले दिएका उत्तरको प्रसङ्ग छ यहाँ । अर्जुनले कर्महरूको संन्यास र फेरी कर्मयोगको श्री कृष्णद्वारा प्रशंसा गरिएको सन्दर्भमा मेरो लागि के सबभन्दा उपयुक्त कल्याणकारक भनेर मार्गदर्शन गर्न आग्रह गरेको यो श्लोकले दर्साउँछ ।    

श्रीमद्भागवत गीता, अध्याय ५, श्लोक २ र ३

भगवान् श्री कृष्णले उत्तर दिन्छन्

संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते॥

अर्थात् कर्म संन्यास र कर्मयोग यी दुइटै परम कल्याणकारी हुन् तर यसमा पनि कर्म संन्यास भन्दा कर्मयोग(आफ्नो कर्म गर्दै जानु) सबभन्दा श्रेष्ठ हो

ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते॥

अर्थात् जो व्यक्ति न कसैसँग द्वेष गर्छ, न कुनै वस्तुप्रति अत्यधिक आसक्ति(मोह वा लगाव) राख्छ, उसैलाई वास्तविक सन्न्यासी मान्नुपर्छ। यस्तो व्यक्तिले जीवनका द्वन्द्वहरू पार गर्दै बन्धनबाट मुक्ति प्राप्त गर्छ।

आजभन्दा करिब पाँच हजार वर्षअघि घटेको महाभारतकालीन सन्दर्भमा प्रकट भएको श्रीमद्भगवद्गीताको ज्ञान आज पनि मानव सभ्यताको हरेक क्षेत्रमा उत्तिकै सान्दर्भिक र उपयोगी रहेको पाइन्छ। विभिन्न कालखण्ड र परिस्थितिमा भगवद्गीताका विभिन्न श्लोकहरूको अध्ययन तथा अनुसन्धान गर्दै मानविकी, दर्शन, विज्ञान, प्रविधि, आविष्कार तथा व्यवस्थापनलगायतका विविध क्षेत्रमा यसको उपयोगितामाथि निरन्तर अनुसन्धान हुँदै आएको छ। भगवद्गीता कुनै एक धर्म वा सम्प्रदायको प्रतिनिधित्व गर्ने धार्मिक ग्रन्थ मात्र नभई सम्पूर्ण मानव जातिलाई सही, सुखी, शान्त र अर्थपूर्ण जीवन जिउने मार्गदर्शन प्रदान गर्ने ज्ञानको अनुपम स्रोत हो। यसमा समेटिएका सिद्धान्तहरू व्यक्तिगत जीवनदेखि व्यावसायिक तथा संस्थागत व्यवस्थापनसम्म समान रूपमा सान्दर्भिक देखिन्छन्।

यस अध्ययनमा भगवद्गीतालाई व्यवस्थापनको दृष्टिकोणबाट विश्लेषण गर्ने क्रममा पाँचौँ अध्यायका श्लोक १, २ र ३ विशेष रूपमा नेतृत्व तथा व्यवस्थापनका सन्दर्भमा अत्यन्त उपयोगी देखिएका छन्। यी श्लोकहरूले संस्थाका व्यवस्थापक वा प्रबन्धकलाई मात्र होइन, उनीहरूको मातहतमा कार्यरत कर्मचारीहरूलाई समेत सकारात्मक कार्यसंस्कृति, उत्तरदायित्वबोध र व्यावसायिक आचरणतर्फ प्रेरित गर्ने क्षमता राख्दछन्।व्यवस्थापनका विभिन्न सिद्धान्तहरूले देखाएअनुसार कर्मचारीहरूले आफ्नो कार्यबाट अत्यधिक प्रतिफलको अपेक्षा गर्ने, अपेक्षाअनुसार परिणाम प्राप्त नभएमा उत्प्रेरणा गुमाउने तथा संस्थाप्रति नकारात्मक धारणा विकास गर्ने प्रवृत्ति देखिन सक्छ। यस सन्दर्भमा भगवद्गीताले कर्मप्रति निष्ठावान रहन, आफ्नो कर्तव्यलाई प्राथमिकता दिन तथा फलप्रतिको अत्यधिक आसक्ति र लोभबाट मुक्त रहन प्रेरणा दिन्छ। यसको अर्थ फलको अपेक्षा गर्नु नै अनुचित हो भन्न खोजिएको पक्का पनि होइन ।

सामान्यतया हाम्रो समाजमा संन्यास भन्नासाथ सबै सांसारिक विषय त्यागेर वन–जङ्गल वा एकान्त स्थानमा बस्ने, तपस्या गर्ने र गृहस्थ जीवनबाट पूर्ण रूपमा अलग रहने अवस्थालाई बुझ्ने प्रचलन रहेको छ। तर, यो सन्यासको अपेक्षाकृत संकुचित व्याख्या हो। भगवद्गीताको दृष्टिकोणमा सन्यासको वास्तविक अर्थ बाह्य जीवनको त्यागभन्दा पनि मनभित्र रहेको आसक्ति, मोह, अहङ्कार र स्वार्थको त्याग हो। अर्थात्, संसारका सम्पूर्ण कर्तव्य निर्वाह गर्दै पनि कुनै वस्तु, व्यक्ति वा पद–प्रतिष्ठाप्रति अत्यधिक मोह नराखी निष्पक्ष, निस्वार्थ र आत्मसंयमित जीवन जिउनु नै वास्तविक संन्यास हो।यस अर्थमा गृहस्थ जीवन बिताउने व्यक्ति पनि सच्चा सन्यासी हुन सक्छ। भगवान् महादेव यसको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ। उहाँले विवाह गर्नुभयो, पारिवारिक जीवन बिताउनुभयो, सन्तानको पालनपोषण गर्नुभयो तथा गृहस्थ धर्मका सम्पूर्ण दायित्व निर्वाह गर्नुभयो। तथापि उहाँ कुनै पनि सांसारिक वस्तु वा प्रतिष्ठाप्रति अत्यधिक आसक्त हुनुभएन। कर्तव्यप्रति समर्पित रहँदै मोहबाट मुक्त जीवनयापन गर्नुभएको कारण उहाँलाई गृहस्थ सन्यासी का रूपमा पनि स्मरण गरिन्छ।

व्यवस्थापनको सन्दर्भमा कर्मयोग र कर्मसन्यासको यही सिद्धान्त अत्यन्त सान्दर्भिक देखिन्छ। कुनै पनि संस्थामा कार्यरत कर्मचारीले आफ्नो कर्तव्यलाई इमानदारी, अनुशासन र समर्पणका साथ निरन्तर निर्वाह गर्नु नै सबैभन्दा उपयुक्त मार्ग हो। कर्मचारीको ध्यान मुख्यतः आफ्नो कार्यसम्पादन, सीप विकास, व्यावसायिक दक्षता र संस्थाको समग्र प्रगतिमा केन्द्रित हुनुपर्छ। तलब, बोनस, भत्ता, पदोन्नति, स्थानान्तरण, प्रतिष्ठा वा अन्य सुविधाप्रति अत्यधिक आसक्ति राख्दा कार्यसम्पादनमा नकारात्मक प्रभाव पर्न सक्छ। यसको अर्थ यी विषयहरू महत्त्वहीन छन् भनिएको होइन ।

संन्यासयुक्त कर्मयोगको मूल भाव राग, द्वेष, अत्यधिक फलप्राप्तिको लालसा, अहङ्कार, स्वार्थ तथा अनावश्यक आसक्तिलाई त्याग्दै कर्तव्यप्रति समर्पित रहनु हो। यस्ता गुणले सम्पन्न व्यवस्थापक वा कर्मचारीले आफ्नो व्यक्तिगत नैतिकता मात्र होइन, संगठनको हितलाई पनि सर्वोपरि ठान्छ। त्यसको विपरीत राग, द्वेष, लोभ, पदलोलुपता तथा अहङ्कारले ग्रसित नेतृत्वले संस्थामा भ्रष्टाचार, पदको दुरुपयोग, पक्षपात, अनैतिक निर्णय तथा अव्यवसायिक संस्कृतिलाई बढावा दिन सक्छ। यस्तो अवस्थामा व्यवस्थापकको नैतिक चरित्र कमजोर बन्दै जान्छ र त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव संगठनको समग्र कार्यसम्पादनमा समेत पर्न सक्छ।

यसै कारण भगवद्गीताले प्रतिपादन गरेको संन्यासयुक्त कर्मयोगले कर्मचारी तथा व्यवस्थापकलाई ईर्ष्या, द्वेष, अत्यधिक लोभ, भ्रष्टाचार, अनैतिकता तथा स्वार्थपरक प्रवृत्तिको परित्याग गरी निष्काम भावले आफ्नो कर्तव्य निर्वाह गर्न प्रेरित गर्दछ। यस प्रकारको कार्यशैलीले व्यक्तिगत क्षमता, व्यावसायिक दक्षता र नैतिक चरित्रको विकास गर्नुका साथै संगठनमा विश्वास, सहकार्य, पारदर्शिता तथा उत्तरदायित्वको संस्कृतिलाई पनि सुदृढ बनाउँछ। परिणामस्वरूप संगठन र कर्मचारी दुवैको समानान्तर विकास सम्भव हुन्छ।

व्यवस्थापनको मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यस्तो कार्यसंस्कृतिले संगठनभित्र मनोवैज्ञानिक पूँजी (Psychological Capital) को विकासमा समेत सकारात्मक योगदान पुर्‍याउँछ। आशा (Hope), आत्मविश्वास (Self-efficacy), लचकता (Resilience) र आशावाद (Optimism) जस्ता मनोवैज्ञानिक गुणहरूको विकास हुँदा कर्मचारीहरूको कार्यसम्पादन, उत्प्रेरणा तथा संगठनप्रतिको प्रतिबद्धता स्वतः वृद्धि हुन्छ।

यसका साथै कर्मयोगको सिद्धान्त आधुनिक व्यवस्थापनका विभिन्न सिद्धान्तहरूसँग पनि सामञ्जस्य राख्दछ। फ्रेडरिक विन्स्लो टेलरको वैज्ञानिक व्यवस्थापन सिद्धान्तले कार्यकुशलता, अनुशासन र उत्पादकत्वमा जोड दिएको छ भने, सहकार्य, जिम्मेवारी र इमानदार कार्यसम्पादनलाई पनि प्रभावकारी व्यवस्थापनका आधारका रूपमा स्वीकार गरेको पाइन्छ। त्यसैगरी, अब्राहम मास्लोको आवश्यकता पदानुक्रम सिद्धान्तले व्यक्तिको उच्चतम क्षमता (Self-actualization) नैतिक, सकारात्मक र अर्थपूर्ण कार्यपरिवेशमा मात्र सम्भव हुने कुरा स्पष्ट गर्दछ। जब कर्मचारी र व्यवस्थापकले राग, द्वेष, भ्रष्टाचार तथा अनैतिक व्यवहार त्यागेर निष्काम कर्मयोगको भावनाअनुसार कार्य गर्दछन्, तब उनीहरूको व्यक्तिगत विकाससँगै संगठनको दिगो विकास, सकारात्मक संगठनात्मक संस्कृति तथा उच्च कार्यसम्पादन सुनिश्चित हुने आधार तयार हुन्छ।

(लेखक मधेस विश्वविद्यालयका उपप्राध्यापक तथा परीक्षा व्यवस्थापन शाखा प्रमुख हुनुहुन्छ ।)

Back to top