×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी गुणस्तरहीन तथा अखाद्य खाद्यवस्तुको उत्पादन र बिक्री–वितरण गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरिएका खाद्यवस्तुका नमुनाको परीक्षणका क्रममा कैफियत भेटिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम मुद्दा दर्ता गरेको हो।

कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका १ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।

यस्तै, सप्तरी र सिरहाका ३ तथा धनुषाका २ गरी थप ५ उद्योगी–व्यवसायीविरुद्ध पनि अखाद्य मिसावट तथा स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको उनले जानकारी दिए।

प्रमुख दाहालका अनुसार अनुगमनका क्रममा खाद्यवस्तुमा अखाद्य पदार्थ मिसावट, म्याद गुज्रिएका सामग्रीको बिक्री–वितरण तथा तोकिएको गुणस्तर मापदण्डको उल्लङ्घन भएको पाइएपछि सम्बन्धित व्यवसायीलाई कानुनी दायरामा ल्याइएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका विभिन्न जिल्लाबाट ४ हजार ५५९ खाद्य नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो। तीमध्ये ५७८ नमुना कानुनी प्रयोजनका लागि, १ हजार २२८ उत्पादकको अनुरोधमा तथा २० नमुना सरकारी निकायको सिफारिसमा सङ्कलन गरिएको थियो। परीक्षण गरिएका नमुनामध्ये ३५ वटा नमुना मापदण्डविपरीत फेला परेका थिए।

सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी अवशेष परीक्षण गरिएको तथा ३१० वटा स्वच्छता सर्भिलेन्स सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल तथा रेस्टुरेन्टमाथिको अनुगमन पनि तीव्र पारिएको छ। गत असारमा धनुषाका ४४ होटलमध्ये १२ वटालाई कैफियत भेटिएपछि ४ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको थियो। त्यसैगरी सर्लाहीका २४ होटलमध्ये १७ वटालाई ६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ।

यस अवधिमा १२१ उद्योगलाई नयाँ अनुज्ञापत्र, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगलाई सिफारिस सेवा प्रदान गरिएको छ। यसबाट ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका, लेबल नभएका तथा सडेगलेका अखाद्य खाद्यवस्तुहरू स्थानीय सरोकारवालाको रोहबरमा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

Back to top