रौतहट । भारतको सीमावर्ती बैरगनिया बजारबाट मोजाभित्र लुकाएर नेपालतर्फ ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार अपराह्न गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला अन्तर्गत बैरगनियाका ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बैरगनियाबाट अटो रिक्सामा सवार भई नेपाल प्रवेश गरेका जयसवालमाथि शंका लागेपछि शरीर खानतलासी गरिएको थियो। त्यस क्रममा उनले लगाएको मोजाभित्र लुकाएर राखेको ५ लाख ४५ हजार नेपाली रुपैयाँ, ४ हजार ८० भारतीय रुपैयाँ तथा भिभो कम्पनीको एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शनिबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रारम्भिक अनुसन्धानमा जयसवाल यसअघि पनि विभिन्न समयमा स्रोत नखुलेको नगद रकम भरियाको रूपमा नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको खुलेको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। प्रहरीले बरामद नगदको स्रोत, प्रयोगको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत अघि बढाइएको जनाएको छ।