एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीले आन्दोलन थालेपछि शनिबार कारागारभित्र तनावपूर्ण अवस्था सिर्जना भएको छ। जेलरको सरुवा, आर्थिक अनियमितताको छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्।
कैदीबन्दीहरूले चौकीदार चयन प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै केही दिनदेखि विरोध प्रदर्शन गर्दै आएका थिए। आन्दोलन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी कारागारभित्र प्रवेश गर्ने प्रयास गर्दा तनाव थप बढेको थियो।
यसक्रममा पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका थिए। सुरक्षाकर्मी र कारागार प्रशासन समयमै सक्रिय भएपछि कुनै मानवीय क्षति हुन नपाएको जनाइएको छ।
आन्दोलनरत कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै कारागार प्रशासनको नाममा ५ लाख रुपैयाँ असुलिएको आरोप लगाएका छन्। उक्त आरोप सार्वजनिक भएपछि कारागारभित्रको विवाद झन् चर्किएको बताइएको छ। यद्यपि, उक्त आरोपबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।
घटनापछि जिल्ला कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सञ्चारकर्मीलाई पनि कारागारभित्र प्रवेश गर्न नदिइएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकीदार चयनसम्बन्धी विवादपछि कैदीबन्दी असन्तुष्ट बनेको स्वीकार गर्दै हाल अवस्था नियन्त्रणमा रहेको जानकारी दिए। उनका अनुसार कैदीबन्दीसँग निरन्तर संवाद भइरहेको छ भने घटनाबारे थप अनुसन्धान गरिनेछ।
यता, कारागार प्रशासनले पनि उत्पन्न विवाद समाधानका लागि आन्तरिक छलफल जारी रहेको जनाएको छ।