वीरगञ्ज । अस्ट्रेलियामा निधन भएका पर्सागढी नगरपालिका–७ चैनपुर निवासी स्वर्गीय राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि शुक्रवार राति काठमाडौँ आइपुगेको छ ।
विभिन्न कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न समय लागेका कारण ढिलाइ भएको भए पनि अन्ततः उनको पार्थिव शरीर स्वदेश ल्याउन सम्भव भएको हो ।
पटेल गत वर्ष चैत २० गते अस्ट्रेलियाको ताज्मानियास्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए । कामको सिलसिलामा अस्ट्रेलिया पुगेका २९ वर्षीय पटेलको मृत्युको कारणबारे हालसम्म विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन । घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई जानकारी गराएको थियो ।
छोराको शव स्वदेश ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि परिवार चिन्तित बनेको थियो । यस विषयलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभा बैठकमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेपाली नागरिकको शव सम्मानपूर्वक स्वदेश ल्याउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।
सांसद कानुले संसद्मा आवाज उठाएपछि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायसँग समन्वय तीव्र बनाइएको थियो । साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायले समेत आवश्यक परे चन्दा सङ्कलन गरेर भए पनि शव स्वदेश पठाउने पहल गरेका थिए । त्यसपछि शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको थियो ।
शुक्रवार राति काठमाडौँ आइपुगेको पार्थिव शरीर परिवारजनले ग्रहण गरेका छन् । काठमाडौँबाट पार्थिव शरीर लिएर आफन्तहरू अन्तिम श्रद्धाञ्जलीका लागि चैनपुरस्थित निज निवासतर्फ प्रस्थान गरेका छन् । अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आज शनिवार पर्सागढी नगरपालिका–७ चैनपुरमा हुने जनाइएको छ ।
तीन महिनादेखि प्रियजनको अन्तिम दर्शनको प्रतीक्षामा रहेका परिवारका लागि पार्थिव शरीर स्वदेश आइपुग्नु अत्यन्त भावुक क्षण बनेको छ । शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउन सहयोग पुर्याएकोमा परिवारजनले सांसद सुशील कुमार कानुप्रति आभार व्यक्त गरेका छन् ।
स्वर्गीय राकेश कुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।