वीरगञ्ज । मुलुककै प्रमुख राजस्व सङ्कलन गर्ने कार्यालयमध्ये एक रहेको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कार्यालयलाई दिइएको वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत उपलब्धि भएको हो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि कार्यालयलाई दुई खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । लक्ष्यअनुसार पूर्ण उपलब्धि हासिल नभए पनि वीरगञ्ज भन्सारले राष्ट्रिय राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभरका सबै भन्सार कार्यालयमार्फत पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । उक्त कुल लक्ष्यमध्ये ४१ दशमलव ४५ प्रतिशत योगदान वीरगञ्ज भन्सार कार्यालयको रहेको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले महिनागत रूपमा पनि उल्लेखनीय राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७४ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ, पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ, चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ, वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ, जेठमा २२ अर्ब ३२ करोड रुपैयाँ तथा असारमा २२ अर्ब ४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
आर्थिक वर्षको अन्तिम चार महिनामा मासिक २१ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुनुले आयात–निर्यात गतिविधिमा वृद्धि हुनुका साथै राजस्व परिचालनमा सुधार आएको सङ्केत गरेको कार्यालयको भनाइ छ । वीरगञ्ज भन्सार कार्यालयले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न भन्सार प्रशासनलाई थप प्रभावकारी बनाउने, चुहावट नियन्त्रण गर्ने तथा व्यापार सहजीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।