वीरगञ्ज। छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ।
डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
ग्रेडिङमा ९ जना खेलाडीले ह्वाइट (सेतो) बेल्ट, ३ जनाले हाफ ग्रीन (हरियो) बेल्ट, १ जनाले ग्रीन बेल्ट तथा २ जनाले ब्लु बेल्ट प्राप्त गरेका छन्।
ह्वाइट बेल्ट प्राप्त गर्नेमा सानभी क्षेत्री, दिवस सापकोटा, नित्यम चौरसिया, एम. आहिल हुसेन, कृतिक कुमार जाटिया, आयुष्मा कुमारी लगायत ९ जना रहेका छन्। त्यसैगरी, हाफ ग्रीन बेल्टतर्फ एरिका दास, एरोन दास र विकास प्रजापति, ग्रीन बेल्टतर्फ आहिल इब्राहिम तथा ब्लु बेल्टतर्फ सबना खातुन र अमन सर्राफ ग्रेडिङमा सफल भएका छन्।
ग्रेडिङ परीक्षा नवल किशोर शर्मा, राजेन्द्रकुमार शाही, मन्जिल मियाँ हवारी र विक्रान्त डंगोल सम्मिलित ग्रेडिङ समितिले खेलाडीहरूको मूल्याङ्कन गरेका थिए।
ग्रेडिङ समितिका सदस्य राजेन्द्रकुमार शाहीले नियमित प्रशिक्षण, अनुशासन र निरन्तर अभ्यास नै खेलाडीको सफलताको आधार भएको उल्लेख गर्दै बेल्ट ग्रेडिङ केवल पदोन्नति नभई खेलाडीको क्षमता, आत्मविश्वास र जिम्मेवारीसमेत बढाउने प्रक्रिया भएको बताए। उनले आगामी दिनमा अझ मेहनतका साथ अभ्यास जारी राख्न खेलाडीहरूलाई आग्रह गरे।
कार्यक्रमका अध्यक्ष मन्सुर मोहम्मद मियाँले छपकैया क्षेत्रमा तेक्वान्दोप्रति बालबालिका र युवाको आकर्षण बढ्दै गएको बताउँदै खेलमार्फत अनुशासन, आत्मरक्षा र सकारात्मक सोचको विकास हुने धारणा व्यक्त गरे। उनले डोजाङले आगामी दिनमा पनि खेलाडी उत्पादन र तेक्वान्दोको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा खेलाडी, अभिभावक तथा तेक्वान्दोप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।