×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्सा जिल्लाको थरुहट सडक खण्डअन्तर्गत पर्ने तिलावे र भलुवाही नदीमा आएको बाढीका कारण विगत दुईदेखि तीन दिनसम्म अवरुद्ध रहेको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । बाढीको बहाव घटेसँगै यातायात सेवा सुचारु भएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछि पर्सागढी नगरपालिका–९ एकटाङ्गास्थित तिलावे नदी र पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवास्थित भलुवाही नदीमा आएको बाढीले थरुहट सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । आज बिहानदेखि पानीको सतह घटेपछि सडक सञ्चालनमा आएको स्थानीयवासी सुभाष दासले जानकारी दिए ।

सडक सञ्चालनमा आए पनि यहाँका स्थानीय भने विगत १८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका दुई पुलका कारण हरेक वर्ष वर्षायाममा सास्ती भोग्न बाध्य छन् । स्थानीयका अनुसार तिलावे नदीको पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन र भलुवाही खोलाको पुल निर्माणको जिम्मा वाई.पी. मोना कन्स्ट्रक्सनले लिएका थिए । करिब साढे पाँच करोड रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता भएको झन्डै दुई दशक बित्न लाग्दा पनि दुवै पुल अझै सम्पन्न हुन सकेका छैनन् ।

स्थानीय तपसी राउतका अनुसार ठेकेदार कम्पनीहरूको चरम लापरबाही तथा समयमै प्रभावकारी खबरदारी हुन नसक्दा पुल निर्माण वर्षौँदेखि अलपत्र परेको हो । निर्माण कार्य रोकिँदा स्थानीयले हरेक वर्ष बाढीका बेला जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

पुल निर्माण नहुँदा विशेष गरी वर्षायाममा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुने गरेको छ । विद्यालय जाने विद्यार्थी, आकस्मिक सेवाका एम्बुलेन्स, यात्रुवाहक बस तथा अन्य अत्यावश्यक सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।

स्थानीय रामगोपाल साहले पुल निर्माणमा स्थानीय तह, प्रदेश सरकार तथा सङ्घीय सरकारका जनप्रतिनिधिहरू उदासीन बनेको आरोप लगाए । उनले वर्षौँदेखि जनताले समस्या भोगिरहे पनि सम्बन्धित निकायले निर्माण सम्पन्न गराउन प्रभावकारी पहल नगरेको बताए ।

स्थानीयवासीको अनुसार चुनावका बेला विकासका ठूला प्रतिबद्धता गर्ने राजनीतिक दल र जनप्रतिनिधिले १८ वर्षदेखि अलपत्र रहेका यी दुई पुल निर्माण सम्पन्न गराउन आवश्यक चासो नदिँदा पर्सागढी नगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाका हजारौँ नागरिक प्रत्येक वर्ष जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् ।

स्थानीयले सम्बन्धित निकायसँग अलपत्र पुल निर्माण कार्य तत्काल सम्पन्न गरी वर्षौँदेखिको सास्ती अन्त्य गर्न माग गरेका छन् ।

Back to top