×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सडक विस्तारका क्रममा मुख्य नालाहरू अवरुद्ध भएपछि विभिन्न टोलमा वर्षाको पानी जम्न थालेको छ। पानीको उचित निकास नहुँदा डेङ्गी, झाडापखाला, टाइफाइड, हैजालगायत जलजन्य तथा सरुवा रोग फैलिने जोखिम बढेको भन्दै चिकित्सकहरूले तत्काल रोकथामका प्रभावकारी उपाय अपनाउन आग्रह गरेका छन्।

पछिल्ला केही सातादेखि सडक विस्तारका लागि भइरहेको निर्माण तथा तोडफोडका क्रममा मुख्य नालाहरू माटो, ढुङ्गा र निर्माण सामग्रीले पुरिएका छन्। यसका कारण साना नालाहरूको बहावसमेत अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्।

छपकैया, आदर्शनगर, मुर्ली, घण्टाघर आसपास, गहवा, घुसुकपुर, पावरहाउस, बहुअरी गण्डकलगायतका घना बस्तीमा वर्षाको पानी लामो समयसम्म जमिरहेकाले स्थानीयवासीले दुर्गन्ध, फोहोर र लामखुट्टेको समस्या बढ्दै गएको गुनासो गरेका छन्।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सडक निर्माणका कारण धूलो, हिलो र फोहोरको मात्रा अस्वाभाविक रूपमा बढेको छ। पानीको निकास तत्काल व्यवस्थित गर्न नसके डेङ्गीसँगै अन्य जलजन्य तथा सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम उच्च रहेको उनले बताए।

उनका अनुसार रोग फैलिसकेपछि एकैपटक बिरामीको सङ्ख्या बढ्न सक्ने र यसको सबैभन्दा बढी असर घना बस्ती, विपन्न तथा दलित समुदायमा पर्ने सम्भावना छ। सुरक्षित खानेपानी र सरसफाइको अभाव भएका क्षेत्रमा सङ्क्रमणले महामारीको रूपसमेत लिन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

स्वास्थ्य विज्ञहरूले तत्काल नालाको सरसफाइ, जमेको पानी हटाउने अभियान, लामखुट्टे नियन्त्रण, फगिङ, लार्भा नष्ट गर्ने कार्यक्रम तथा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार वर्षायाममा समयमै रोकथामका उपाय अवलम्बन नगरे डेङ्गीसहित अन्य संक्रामक रोगको जोखिम अझ बढ्न सक्छ।

यता, वीरगञ्ज महानगरपालिकाले भने हालसम्म यस विषयमा प्रभावकारी तयारी सार्वजनिक गरेको देखिएको छैन। महानगरपालिकाका एक कर्मचारीका अनुसार नयाँ आर्थिक वर्षको प्रारम्भिक चरण, बजेट कार्यान्वयन प्रक्रिया तथा सरकारी खाताको व्यवस्थापनका कारण तत्काल ठूलो स्तरको सरसफाइ तथा नियन्त्रण अभियान सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

सडक विस्तारसँगै अवरुद्ध भएका नालाको व्यवस्थापनमा ढिलाइ भइरहेका बेला स्थानीयवासीले सम्बन्धित निकायसँग पानीको निकास खुलाउने, सरसफाइ अभियान सञ्चालन गर्ने र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

Back to top