×

वीरगञ्ज । वीरगञ्जस्थित जिल्ला विकास समिति नजिक रहेको नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टरमाथि उपचारका क्रममा बिरामीसँग अत्यधिक शुल्क असुलेको आरोप लागेको छ। अस्पतालमा उपचार गराएका एक बिरामी पक्षले पत्रकार सम्मेलन गर्दै सामान्य ज्वरोका बिरामीलाई अनावश्यक रूपमा आईसीयूमा राखी करिब एक लाख रुपैयाँ बराबरको बिल बनाएको आरोप सार्वजनिक गरेका हुन्।

बिरामी पक्षका अनुसार पर्साको जगन्नाथपुर गाउँपालिकाका ममताज अन्सारी चार दिनअघि सामान्य ज्वरो आएपछि उपचारका लागि नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टर पुगेका थिए। तर, उनको स्वास्थ्य अवस्था गम्भीर नभए पनि अस्पतालले आईसीयूमा भर्ना गरी विभिन्न परीक्षण तथा उपचारको नाममा करिब एक लाख रुपैयाँ बराबरको बिल बनाएको उनीहरूको दाबी छ।

बिरामीका आफन्तले आवश्यकताभन्दा बढी परीक्षण तथा उपचार गराएर आर्थिक रूपमा शोषण गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अस्पतालमा बिरामीको चाप कम भएकाले आउने बिरामीबाट अधिकतम रकम असुल्ने प्रवृत्ति रहेको समेत दाबी गरिएको छ।

यस विषयमा पीडित पक्षले पत्रकार सम्मेलनमार्फत सम्बन्धित सरकारी निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

यता, आरोपबारे प्रतिक्रिया लिन नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टरसँग सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म अस्पताल प्रशासनको प्रतिक्रिया प्राप्त हुन सकेन। अस्पतालको आधिकारिक धारणा प्राप्त भएपछि त्यसलाई पनि समावेश गरिनेछ।

उल्लेखित आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ। घटनाको सत्यतथ्यबारे सम्बन्धित नियामक निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासी तथा सरोकारवालाहरूले गरेका छन्।

Back to top