वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले प्रशोधन नगरी रासायनिकयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले सदियौँदेखि वीरगञ्ज हुँदै बग्ने ऐतिहासिक सिर्सिया नदी उद्योगहरूबाट निस्कने विषाक्त रासायनिक फोहोरका कारण दुर्गन्धित नालामा परिणत भएको बताए। उनले उद्योगहरूको लापरबाही तथा सम्बन्धित निकायको बेवास्ताका कारण नदीको प्राकृतिक स्वरूप र अस्तित्व नै संकटमा परेको उल्लेख गरे।
सांसद पन्तले सिर्सिया नदी लोकआस्थाको महान् पर्व छठसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएको स्मरण गराउँदै विगतमा यही नदीको पानीमा उभिएर श्रद्धालुहरूले अर्घ्य दिने गरे पनि अहिले दुर्गन्धका कारण त्यहाँ उभिनसमेत कठिन भएको बताए।
उनका अनुसार सिर्सिया नदी अहिले लामखुट्टेको प्रमुख प्रजननस्थल बनेको छ। नदीबाट फैलिएको प्रदूषण र दुर्गन्धका कारण नदी किनारका बस्तीका स्थानीयवासीले रातिको समयमा समेत सहज रूपमा बस्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए।
सांसद पन्तले पछिल्ला केही वर्षदेखि समस्या विकराल बन्दै गए पनि संघीय, प्रदेश तथा स्थानीय सरकारहरूले सिर्सिया नदी सफाइलाई निर्वाचनका बेला घोषणापत्रमा समेट्ने बाहेक प्रभावकारी काम नगरेको आरोप लगाए।
उनले वीरगञ्जवासीले सिर्सिया नदीको संरक्षण र पुनर्जीवनका लागि सरकारसँग ठूलो अपेक्षा राखेको उल्लेख गर्दै उद्योगहरूबाट हुने प्रदूषण तत्काल नियन्त्रण गरी नदीलाई पुनर्जीवन दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।
सांसद पन्तले सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सिर्सिया नदी संरक्षण, औद्योगिक प्रदूषण नियन्त्रण, नियमित अनुगमन तथा नदी पुनर्जीवनका लागि आवश्यक नीति र कार्यक्रम तत्काल कार्यान्वयन गर्न आग्रह गरे।