एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री गहवा माई मन्दिर पुनर्निर्माणको १४औँ वर्ष तथा श्री गहवा माई रथमालाको चौथो वर्षको अवसरमा आयोजना हुन लागेको भव्य रथयात्रालाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासमा बिक्री वितरण हुने लड्डु, पेढा तथा अन्य प्रसादजन्य मिठाईहरूको गुणस्तर परीक्षण र प्रभावकारी बजार अनुगमन गर्न उपभोक्ता अधिकारकर्मीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।
आगामी २०८३ साल असार ३२ गते (बिहीबार) बिहान ८ बजेदेखि विशेष पूजा सुरु हुने कार्यक्रम रहेको छ। दिउँसो १२ बजेसम्म पूजा सञ्चालन हुने, त्यसपछि विश्राम तथा पुनः धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। साँझ हवन, आरती तथा बेलुका ६ः३० बजेदेखि भक्तजनलाई प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
यही भीडभाडलाई मध्यनजर गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले मन्दिर आसपास बिक्री हुने प्रसादजन्य खाद्य सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनका अनुसार बजारमा प्रतिकिलो १८० रुपैयाँसम्मका सस्ता लड्डु तथा अन्य मिठाई ठूलो परिमाणमा बिक्रीका लागि ल्याइए पनि तिनको उत्पादन मिति, प्रयोग गरिएका कच्चा पदार्थ, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको प्रभावकारी परीक्षण हुने गरेको देखिँदैन।
उनले धार्मिक आस्थासँग जोडिएका कार्यक्रममा भगवानलाई चढाइने प्रसाद नै गुणस्तरहीन वा अखाद्य भए त्यसले हजारौँ भक्तजनको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। “यदि प्रसादका रूपमा वितरण गरिएका गुणस्तरहीन लड्डु, पेढा वा अन्य मिठाई सेवनबाट भक्तजन बिरामी भए त्यसको जिम्मेवारी कसले लिने?” भन्ने प्रश्न उठाउँदै उनले सम्बन्धित निकायलाई समयमै सतर्क र जिम्मेवार बन्न आग्रह गरेका छन्।
अधिकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, माईस्थान सञ्चालक समिति, श्री गहवा माई तीर्थ विकास समिति तथा स्थानीय प्रशासनले संयुक्त रूपमा बजार अनुगमन गरी गुणस्तरहीन तथा अखाद्य खाद्य सामग्रीको बिक्री वितरण तत्काल रोक्नुपर्ने बताएका छन्।
उनले धर्म र आस्थाको नाममा अखाद्य तथा गुणस्तरहीन मिठाई बिक्री गर्ने व्यवसायीमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा प्रचलित खाद्य ऐन बमोजिम जरिवाना र कानुनी कारबाही गर्नुपर्ने माग पनि गरेका छन्।
उपभोक्ता अधिकारकर्मीहरूले धार्मिक पर्व, मेला तथा रथयात्राका अवसरमा खाद्य सामग्रीको नियमित बजार अनुगमन, नमूना परीक्षण तथा मापदण्डविपरीत कार्य गर्ने व्यवसायीमाथि कडा कारबाही गरिए मात्र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुने बताएका छन्।
उनीहरूले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिन समयमै सचेत र सजग हुनु नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै सम्बन्धित सरकारी निकाय, व्यवसायी तथा उपभोक्तालाई खाद्य सुरक्षाको विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।