एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्जको प्रमुख धार्मिक आस्थाको केन्द्र तथा ऐतिहासिक महावीर मन्दिरको आर्थिक व्यवस्थापन र पारदर्शितामाथि स्थानीयवासी तथा सरोकारवालाहरूले गम्भीर प्रश्न उठाएका छन्। मन्दिरमा भक्तजनहरूले चढाउने दान-दक्षिणा, सुन–चाँदी तथा अन्य बहुमूल्य सामग्रीको अभिलेख, साथै मन्दिरबाट हुने आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिएको भन्दै पारदर्शिताको माग बढ्दै गएको हो।
महावीर मन्दिर वीरगञ्जको परिचित धार्मिक स्थलमध्ये एक हो। नेपालका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत हजारौं भक्तजन दर्शनका लागि यहाँ आउने गर्छन्। मन्दिर परिसरमा रहेका व्यावसायिक सटरहरूबाट नियमित भाडा उठ्ने तथा माथिल्लो तलामा धर्मशाला सञ्चालन हुँदै आएको छ।
स्थानीयका अनुसार मन्दिरमा वर्षौंदेखि संकलन हुँदै आएको नगद, सुन, चाँदी तथा अन्य जिन्सी सामग्रीको विवरण कहिल्यै सार्वजनिक गरिएको छैन। मन्दिर व्यवस्थापन समितिले वार्षिक आर्थिक प्रतिवेदन वा लेखापरीक्षण (अडिट) प्रतिवेदन सार्वजनिक नगर्दा भक्तजनहरूले चढाएको सम्पत्तिको उपयोगबारे विभिन्न आशंका उत्पन्न भएको उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले मन्दिरको चल्ती खाता कुन बैंकमा रहेको, दानस्वरूप प्राप्त सुन–चाँदी तथा गरगहनाहरू कहाँ सुरक्षित राखिएको, साथै मन्दिरको सम्पूर्ण सम्पत्तिको अभिलेख सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
उनीहरूको भनाइमा मन्दिरको आम्दानी समाजसेवा, शिक्षा, स्वास्थ्य, अनाथ तथा विपन्न वर्गको सहयोग, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणजस्ता क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग भएको देखिएको छैन। यसले मन्दिरको सामाजिक उत्तरदायित्वप्रति समेत प्रश्न उठाएको उनीहरूको तर्क छ।
स्थानीय युवा तथा बुद्धिजीवीहरूले सार्वजनिक धार्मिक संस्थाहरू जनउत्तरदायी हुनुपर्ने भन्दै मन्दिरको सम्पत्ति कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई सार्वजनिक देवस्व भएकाले प्रत्येक आम्दानी–खर्च पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
स्थानीयको प्रमुख माग : मन्दिरको सम्पूर्ण सम्पत्ति, बैंक खाता तथा वार्षिक आम्दानी–खर्चको विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरियोस्। स्वतन्त्र र आधिकारिक निकायबाट नियमित लेखापरीक्षण (अडिट) गरियोस्। मन्दिरको बचत रकमको निश्चित अंश शिक्षा, स्वास्थ्य, अनाथ तथा विपन्न समुदायको हित र सांस्कृतिक संरक्षणका कार्यक्रममा खर्च गर्ने स्पष्ट नीति बनाइयोस्।
धार्मिक आस्था र सार्वजनिक विश्वाससँग जोडिएको विषय भएकाले महावीर मन्दिरको आर्थिक व्यवस्थापनमा पारदर्शिता कायम गर्न सम्बन्धित व्यवस्थापन समिति, स्थानीय प्रशासन तथा वीरगञ्ज महानगरपालिकाले आवश्यक पहल गर्नुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ।