×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कार्यरत केही नगरप्रहरीमाथि निजी व्यवसायी तथा फुटपाथ व्यापारीसँग धम्कीपूर्ण शैलीमा अवैध रकम असुल्ने गरेको गम्भीर आरोप लागेको छ। व्यवसायीहरूले नगरप्रहरीको व्यवहारका कारण आफूहरू त्रसित बनेको गुनासो गर्दै महानगरपालिकासँग प्रभावकारी अनुगमन तथा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार केही नगरप्रहरी बिहानदेखि रातिसम्म बर्दी लगाएर विभिन्न निजी संस्था, मदिरा पसल, किराना पसल तथा फुटपाथ व्यवसायीका स्थानमा पुग्ने गरेका छन्। उनीहरूले पार्किङ व्यवस्थापन, जरिवाना वा कारबाहीको बहाना देखाउँदै रकम माग्ने, सामानमा छुट दिन दबाब दिने तथा नमाने विभिन्न किसिमले दुःख दिने धम्की दिने गरेको व्यवसायीहरूको आरोप छ।

नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने, “बर्दीको दुरुपयोग गरेर अनावश्यक दबाब दिने र पैसा माग्ने प्रवृत्ति बढेको छ। विरोध गरे विभिन्न बहानामा दुःख दिने डर हुन्छ।” उनका अनुसार यस्ता गतिविधिका कारण व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको छ भने महानगरपालिकाको छविमा समेत नकारात्मक असर परेको छ।

व्यवसायीहरूले औपचारिक उजुरी गर्न समेत डर लागेको बताएका छन्। उजुरी गरे थप हैरानी र प्रतिशोधको सामना गर्नुपर्ने आशंकाले धेरै पीडित खुलेर बोल्न नसकेको उनीहरूको भनाइ छ।

यता, वीरगञ्ज महानगरपालिकाका नगरप्रहरी इन्चार्ज हरि भुसाल ले हालसम्म यस विषयमा कुनै लिखित वा मौखिक उजुरी प्राप्त नभएको बताएका छन्। उनले प्रमाणसहित उजुरी प्राप्त भए निष्पक्ष छानबिन गरी दोषी देखिएका नगरप्रहरीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारे।

व्यवसायीहरूले महानगरपालिकाले नगरप्रहरीको गतिविधिमाथि नियमित निगरानी बढाउनुपर्ने, बर्दीको दुरुपयोग गर्दै हुने गरेको अवैध असुली रोक्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने र आरोपबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नसके व्यवसायीमाथिको मनोवैज्ञानिक दबाब झन् बढ्ने मात्र नभई वीरगञ्जको समग्र व्यापारिक वातावरण र महानगरप्रतिको जनविश्वासमा समेत नकारात्मक असर पर्नेछ।

 

Back to top