वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम सुरु गरेको बताएका छन्। उनले पर्यटन क्षेत्रको विस्तारसँगै होटल व्यवसायीले लामो समयदेखि उठाउँदै आएका समस्याको समाधानतर्फ सरकार गम्भीर रहेको समेत स्पष्ट पारे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। उनले व्यवसायीलाई कानूनको पूर्ण पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न सुझाव दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए। उनीहरूले हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै पर्यटक आगमन वृद्धि भए आन्तरिक रोजगारीमा उल्लेखनीय वृद्धि हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे।
छलफलमा हानले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा क्रस–बोर्डर पर्यटनको व्यापक सम्भावना रहेको औँल्याउँदै सरकारसमक्ष विभिन्न नीतिगत माग पनि प्रस्तुत गरेको छ।
व्यवसायीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह बिजुली महसुलमा सहुलियत उपलब्ध गराउन तथा साना एवं मझौला होटलका लागि हाल २५ शय्यासम्म अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्यांकन (आईईई) को सीमा बढाएर ५० शय्यासम्म कायम गर्न माग गरेका छन्।
यसैगरी पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न, डेस्टिनेसन वेडिङका लागि आवश्यक गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटनको प्रवर्द्धनका लागि फोटो–भिडियोमा मात्र सीमित नरही ‘फुल स्टोरी टेलिङ’सहितको प्रचार–प्रसार र विज्ञको व्यवस्थाको पहल गर्न पनि हानले सरकारसँग अनुरोध गरेको छ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।