एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको जनाएको छ। साथै, आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार बसेको प्राधिकरणको बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायहरूले गरेका तयारी तथा प्रगतिको समीक्षा गर्दै अद्यावधिक विवरण संकलन गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरण गर्न सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए।
उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न मन्त्रालय तथा निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशन कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न सम्बन्धित विभाग, क्लस्टर प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूसँग छलफल गरिएको उनले जानकारी दिए।
कोइरालाले बैठकबाट संकलित प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश गरिने र विभिन्न निकायले गरेका तयारी तथा प्रगतिका विवरण अद्यावधिक गरिएको बताए।
उनले हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गर्दै आएको जानकारी दिए।
उनका अनुसार आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा आफूले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ। समयमै मौसमसम्बन्धी सूचना र सतर्कता अपनाएमा जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने प्राधिकरणको विश्वास छ।
प्राधिकरणले मौसमको पूर्वानुमानका आधारमा आवश्यकताअनुसार मनसुन अवधिभर निरन्तर एड्भाइजरी तथा सतर्कता सूचना जारी गर्दै जाने जनाएको छ।