वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१, छपकैया सुकुम्बासी टोलमा भारतबाट भन्सार छली गरी अवैध रूपमा ल्याइएका कपडा लुकाइराखिएको विशेष सूचनाको आधारमा गरिएको संयुक्त छापामारीमा करिब ३ लाख रुपैयाँ बराबरका कपडा बरामद भएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा खटिएको टोली, इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले छपकैया सुकुम्बासी टोलका विभिन्न घर तथा गोठमा खानतलासी गरेको हो।
खानतलासीका क्रममा १० वटा गोठ र ११ वटा फुसका घर जाँच गरिएको थियो। सो क्रममा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनि लुकाइराखिएको अवस्थामा ४ पोका सुटिङ तथा थानका कपडा तथा निजकै गोठमा भुसभित्र लुकाइराखिएको अवस्थामा १ पोका कुर्ता–सुरुवालका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका जम्मा ५ पोका कपडाको अनुमानित मूल्य ३ लाख रुपैयाँ रहेको बताइएको छ। बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले अवैध भन्सार छली तथा तस्करी नियन्त्रणका लागि सुरक्षा निकायको निगरानी र कारबाही निरन्तर जारी रहने बताएका छन्।