वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै प्रतिपक्षलाई नै प्रतिप्रश्न गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले गणेश नेपालीले आत्मदाहको प्रयास गरेलगत्तै आफू वीर अस्पताल पुगेको र उपचारमा कुनै कमी हुन नदिन सरकार पूर्ण रूपमा लागेको बताए।
उनले चिकित्सकको सल्लाहअनुसार नै उपचार अघि बढाइएको उल्लेख गर्दै गणेश नेपालीलाई भारत लगेर उपचार गराउने विषयमा पनि सरकारले गम्भीर प्रयास गरेको दाबी गरे।
'उहाँलाई उपचारका लागि भारत लैजान हामीले अथक प्रयास गरेका थियौं। तर चिकित्सकहरूको सल्लाहअनुसार उहाँलाई भारत लगिएन,' गृहमन्त्री गुरुङले भने।
उपचारकै क्रममा गणेश नेपालीको निधन भएपछि सरकारको आलोचना गरिरहेको प्रतिपक्षलाई लक्षित गर्दै गृहमन्त्री गुरुङले घटनाको जिम्मेवारीबारे पनि प्रश्न उठाए।
'सरकार तीन तहको हुन्छ। घटना भएको ठाउँमा ट्राफिक प्रहरीले होइन, काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएको हो । स्थानीय सरकार कसको छरु अहिले स्थानीय सरकार रास्वपाको छरु प्रदेश सरकार कसको छ ?,' उनले भने।
गुरुङले घटनालाई लिएर सरकारमाथि मात्रै दोष थोपर्नु उचित नहुने भन्दै तीनै तहका सरकारको जिम्मेवारी र भूमिकालाई समेत हेर्नुपर्ने धारणा राखे।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।