एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
रौतहट । मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ निकालेको आरोप लगाउँदै तत्काल निलम्बन गरी घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ।
शुक्रबार जारी गरिएको प्रेस वक्तव्यमा नगर प्रमुख साहले महिनौँदेखि कार्यालयमा अनुपस्थित रहँदै नगरपालिकाको प्रशासनिक कामकाज अस्तव्यस्त बनाएको, सेवाप्रवाह प्रभावित पारेको, बजेट कार्यान्वयनमा अवरोध सिर्जना गरेको तथा विकास निर्माणका काम रोकिएको आरोप लगाउनुभएको छ।
वक्तव्यमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले नगर नेतृत्वको जानकारी तथा निर्णयबिनै नगरपालिकाको खाताबाट रकम निकालेको दाबी गर्दै उक्त कार्यलाई "गम्भीर आर्थिक अपराध" र "भ्रष्टाचारजन्य गतिविधि" को संज्ञा दिइएको छ।
नगर प्रमुख साहले सरकारी खाताबाट निकालिएको रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गर्न आग्रह गर्दै सरकारी स्रोतसाधनलाई व्यक्तिगत सम्पत्तिसरह प्रयोग गर्ने प्रवृत्ति अस्वीकार्य भएको उल्लेख गर्नुभएको छ। साथै, घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
प्रेस वक्तव्यमा मौलापुर नगरपालिकासम्बन्धी विषयमा सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको समेत अवज्ञा भएको दाबी गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत घिमिरेको कार्यशैलीका कारण नगरवासी आन्दोलित भएको तथा सेवा प्रवाह प्रभावित बनेको नगर प्रमुख साहको भनाइ छ।
उहाँले नगरपालिकामा केही योजनामा भुक्तानी गरिएको तर समान प्रकृतिका अन्य योजनाको भुक्तानी रोकिएको विषयले समेत थप विवाद र तनाव सिर्जना भएको उल्लेख गर्नुभएको छ।
नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी नगरपालिकाको खाताबाट निकालिएको भनिएको रकम असुलउपर गरेर फिर्ता गराउन तथा घटनाको निष्पक्ष छानबिन गर्न संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ।
साथै, मौलापुर नगरपालिकामा देखिएको समस्या समाधानका लागि संघीय मन्त्रालयले यसपटक प्रभावकारी पहल गरी समस्याको स्थायी निकास निकाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।