काठमाडौं । सरकारले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारीका ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेपछि ती संगठनहरूले सरकारी जग्गा प्रयोग गर्ने कानुनी आधार समाप्त भएको जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्तासमेत खारेज भइसकेकाले सरकारी जग्गामा रहेका भवन तथा संरचना तत्काल खाली गर्नुपर्ने अवस्था आएको हो।
जारी सूचनामा सम्बन्धित संगठनहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गर्न भनिएको छ। साथै कागजात, चलअचल सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयले तोकिएको समयभित्र संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूको रोहवरमा सम्बन्धित भवनहरूमा सूचना टाँसिएको छ।
सरकारको निर्देशन लागू हुने संगठनहरूमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायत रहेका छन्।