×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेलगत्तै महानगरको प्रशासनिक सुधार, कर्मचारी अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्रियता बढाउनुभएको छ। सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्ने तथा कार्यालयभित्रको ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यका साथ कार्यवाहक नगर प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखा तथा फाँटहरूको आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो।

शुक्रबार बिहान करिब १०:३० बजे गरिएको अनुगमनका क्रममा महानगरका विभिन्न शाखामा कार्यरत करिब २० जना कर्मचारी आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए। नेतृत्व तह आफैं कार्यालय समयको सुरुवातमै विभिन्न फाँटमा पुगेपछि कर्मचारी वृत्तमा चासो बढेको छ भने स्थानीयवासीले महानगरको प्रशासनिक सुधारतर्फको पहलको स्वागत गरेका छन्।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले प्रशासनिक अनुशासनमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार कार्यकक्षमा अनुपस्थित देखिएका कर्मचारीमध्ये केही बिदामा, केही फिल्डमा र केही ढिलो कार्यालय पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उहाँले भन्नुभयो, “अनुपस्थित देखिएका सबै कर्मचारीबाट विवरण लिई त्यसको विस्तृत प्रमाणीकरण गरिनेछ। यदि कसैको लापरबाही वा नियमविपरीतको गतिविधि पुष्टि भएमा प्रचलित कानुन र नियमअनुसार आवश्यक कारबाही अघि बढाइनेछ।”

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले छड्के अनुगमनको उद्देश्य केवल कारबाही गर्नु नभई सेवाग्राहीले भोगिरहेका समस्या बुझ्नु र कर्मचारीहरूको कार्यसम्पादन तथा कार्यवातावरणको वास्तविक अवस्था मूल्याङ्कन गर्नु रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “महानगरमा सेवा लिन आउने नागरिकबाट प्राप्त गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। साथै, पछिल्लो परिवर्तित परिस्थितिमा सेवा प्रवाह र कार्यालय व्यवस्थापनका क्रममा कर्मचारीहरूले भोगिरहेका व्यवहारिक समस्या पनि प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले अनुगमन गरिएको हो।”

कार्यवाहक प्रमुख आलमले जिम्मेवारी सम्हालेपछि सुरु भएको यो सक्रियता र प्रमुख प्रशासकीय अधिकृत बोहराको प्रशासनिक कडाइले वीरगञ्ज महानगरपालिकामा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको सन्देश दिएको छ। महानगरको सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो–छरितो र नागरिकमैत्री बनाउने दिशामा नेतृत्वले थालेको पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

Back to top