×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्की ले मानवीय जीवन कुनै पनि नियमभन्दा ठूलो हुने भन्दै संवेदनशील घटनालाई राजनीतिक बचाउको माध्यम नबनाउन आग्रह गरेका छन्।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद कार्कीले ट्राफिक नियमको कार्यान्वयन र मानवीय संवेदनशीलताबीच सन्तुलन आवश्यक रहेको बताएका हुन्।

उनले मान्छे र नियममध्ये कुन रोज्ने भन्ने प्रश्न नै अनुचित भएको टिप्पणी गर्दै आफूले सधैं मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे।

‘नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनुपर्छ, या त नियमका बारेमा मान्छेलाई अझ बढी बुझाउन मेहनत गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

सांसद कार्कीले सरकार वा राजनीतिक दलको बचाउ गर्ने क्रममा मानवीय जीवनको मूल्यलाई कमजोर बनाउने तर्क नगर्न आफ्नै दलका नेता–कार्यकर्ता तथा सरकार समर्थकहरूलाई आग्रह गरेका छन्।

उनले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने तथ्य उल्लेख गर्दै आत्महत्याका प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने बताएका छन्। यी दुवै अवस्थालाई उचित परामर्श, सचेतना र सहयोगमार्फत कम गर्न सकिने भएकाले मानसिक स्वास्थ्यबारे खुला छलफल र जानकारी आदानप्रदानमा जोड दिनुपर्ने उनको भनाइ छ।

उल्लेखनीय छ, बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा शुक्रबार निधन भएको थियो। उक्त घटनापछि राजनीतिक वृत्त, नागरिक समाज र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

Back to top