×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका अधिकांश स्थान, ती प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले भोलि (शनिबार) दिउँसो पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभाग, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, तराई क्षेत्रमा डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Back to top