×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्र सञ्चालित सबै सरकारी, गैरसरकारी, निजी, सहकारी तथा गैरनाफामूलक अस्पताल तथा स्वास्थ्य संस्थालाई लक्षित वर्गका बिरामीहरूलाई कार्यविधि अनुसार अनिवार्य रूपमा छुट/सहुलियत उपलब्ध गराउन निर्देशन दिएको छ ।

लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ अनुसार आर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे भनी स्थानीय तहबाट सिफारिस भएका नागरिकहरूले स्वास्थ्य उपचारका क्रममा तोकिएको छुट/सहुलियत पाउनुपर्ने व्यवस्था रहेको छ । तर केही अस्पतालहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्ने गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको हो ।

गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको असार १७ गतेको पत्रानुसार प्रशासन कार्यालयले जिल्लास्थित अस्पतालहरूलाई कार्यविधि अनुसार छुट दिए/नदिएको अनुगमन गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएको छ ।

पत्रमा कार्यविधि अनुसार छुट/सहुलियत नदिने अस्पतालहरूलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख गर्दै सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सबै स्वास्थ्य संस्थालाई कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न र लक्षित वर्गका बिरामीहरूलाई उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।

Back to top