×

वीरगञ्ज । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ गोलको रोमाञ्चक बराबरी खेलेको छ । टोरन्टोस्थित खचाखच भरिएको रङ्गशालामा शनिवार बिहान सम्पन्न खेलमा क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै विश्वकप इतिहासमै पहिलो अङ्क जोड्न सफल भयो ।

खेलको सुरुआतदेखि नै दुवै टोलीबिच कडा प्रतिस्पर्धा देखिएको थियो । घरेलु समर्थकको उत्साहपूर्ण साथ पाए पनि क्यानडाले पहिलो हाफमा पछि पर्नुपर्‍यो । खेलको २१औँ मिनेटमा इभान बेसिकको कर्नरबाट आएको बलमा जुभो लुकिकले गोल गर्दै बोस्नियालाई १–० को अग्रता दिलाए । अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरेका लुकिकको प्रहारले पहिलो हाफमा बोस्नियालाई मनोवैज्ञानिक रूपमा बलियो बनायो ।

पहिलो हाफमा क्यानडाका एलिस्टेयर जोनस्टन तथा बोस्नियाका लुकिकसहित केही खेलाडीले पहेँलो कार्ड पाएका थिए । क्यानडाले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।

दोस्रो हाफमा भने क्यानडा आक्रामक रणनीतिका साथ मैदान उत्रियो। ५३औँ मिनेटमा रिची लारियाको प्रहार सियाड कोलासिनाकले गोललाइनबाट क्लियर गर्दै सम्भावित बराबरी रोके । तर प्रशिक्षक जेसी मार्शले गरेको परिवर्तन निर्णायक साबित भयो । ७६औँ मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी साइल (कायल) लारिनले ७८औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यो गोलसँगै उनले घरेलु मैदानमा क्यानडाका लागि विश्वकपमा गोल गर्ने इतिहास रचे ।

गोलपछि लारिनले खुसी व्यक्त गर्दै भने, “यो मेरो लागि विशेष क्षण हो । टोलीलाई मद्दत गर्न पाउँदा गर्व लागेको छ । क्यानडालाई मेरो आवश्यकता पर्दा म सधैँ तयार रहनेछु ।” प्रशिक्षक मार्शले पनि बेन्चबाट आएका खेलाडीले खेलको गति परिवर्तन गरेको बताए ।

निर्धारित ९० मिनेटपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । खेलमा बोस्नियाका तीन तथा क्यानडाका दुई खेलाडीले पहेँलो कार्ड पाए ।

यस बराबरीसँगै सन् १९८६ र २०२२ को विश्वकपमा सबै खेल गुमाएको क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अङ्क बटुल्न सफल भएको छ । बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिचले खेलपछि प्रतिक्रिया दिँदै ठुला प्रतियोगितामा अन्तिम क्षणसम्म सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

समूह ‘बी’ मा रहेका दुवै टोलीले पहिलो खेलबाट एक–एक अङ्क बाँडेका छन् ।

Back to top