×

वीरगञ्ज । फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टेडियो एस्टेकामा भएको खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण रह्यो । दुवै टोलीका गरी तीन खेलाडीले रातो कार्ड पाए ।

घरेलु समर्थकको साथ पाएको मेक्सिकोले खेलको नवौँ मिनेटमै अग्रता लियो। इरिक लिराको पासमा जुलियन क्विनोनेसले गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्ने कीर्तिमान बनाए । गोल विश्वकप उद्घाटन खेलको इतिहासमा दोस्रो छिटो गोलसमेत हो । उद्घाटन खेलमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान भने जर्मनीका फिलिप लाहमको नाममा छ ।

दोस्रो हाफको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । त्यसपछि ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि अफ्रिकी टोली नौ खेलाडीमा झर्‍यो । खेलको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाए ।

विश्वकपको उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको यो पहिलो घटना हो । कतार विश्वकप २०२२ का ६४ खेलमा जम्मा चार रातो कार्ड देखिएको थियो, तर २०२६ को पहिलो खेलमै तीन रातो कार्ड देखिँदा प्रतियोगिताको सुरुआत नै सनसनीपूर्ण बनेको छ ।

खेलमार्फत मेक्सिकोका १७ वर्ष २४० दिनका युवा खेलाडी गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै कीर्तिमान बनाए । उनी विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी मात्र होइन, मेक्सिको र उत्तर अमेरिकाबाट विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् । समग्र विश्वकप इतिहासमा उनी छैटौँ कान्छा खेलाडी हुन् ।

यस्तै, गोलकर्ता राउल जिमेनेजले राष्ट्रिय टोलीका लागि ४६औँ गोल गर्दै मेक्सिकोको सर्वाधिक गोलकर्ता सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा उक्लिएका छन् । उनी शीर्ष स्थानमा रहेका हाभियर ‘चिचारितो’ हर्नान्डेजभन्दा ६ गोलले पछि छन् ।

जितसँगै मेक्सिकोले अफ्रिकी टोलीविरुद्धको आफ्नो अपराजित यात्रा २२ खेलसम्म पुर्‍याएको छ । साथै, विश्वकप इतिहासमा पटक–पटक उद्घाटन खेल खेले पनि जित निकाल्न नसकेको मेक्सिकोले ९६ वर्षे इतिहासको ‘उद्घाटन श्राप’ समेत तोडेको छ ।

४८ टोली र १०४ खेल समावेश भएको विश्वकपको सबैभन्दा ठुलो संस्करणको औपचारिक सुरुआत पनि यही खेलमार्फत भएको हो । एस्टेडियो एस्टेकाले १९७०, १९८६ र २०२६ गरी तीन संस्करण आयोजना गर्ने विश्वकै पहिलो रङ्गशाला बनेर अर्को इतिहास रचेको छ ।

समूह ‘ए’ मा मेक्सिकोले पहिलो खेलबाटै तीन अङ्क जोड्दै नकआउट चरणतर्फ बलियो आधार बनाएको छ भने दक्षिण अफ्रिकामाथि सुरुआतमै दबाब बढेको छ । यसै समूहअन्तर्गत अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबिच आज बिहान ७:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

Back to top