वीरगञ्ज । हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण मधेस प्रदेशमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका एक–दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि मधेस प्रदेशमा आंशिक बदली कायम रहनेछ । थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
देशका अन्य प्रदेशहरूमा पनि हिमाली र पहाडी भू–भागमा साधरणतया बदली र वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा (२४ घण्टामा ५० देखि १०० मिलिलिटरसम्म) हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही दिनयता देशभर वर्षा भइरहेकाले गर्मी क्रमशः घट्दै गएको छ। मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।