×

 लियोनेल मेसी र अर्जेन्टिना विश्वकप २०२६ का लागि उत्तर अमेरिका भ्रमणमा रहँदा एउटा सुनौलो लक्ष्यका लागि मैदान उत्रिनेछन्। त्यो हो, विश्वकप इतिहासको पछिल्लो ६ दशकमा पहिलो पटक लगातार च्याम्पियन हुने।

फिफा विश्वकपको ९६ वर्ष लामो इतिहासमा अहिलेसम्म लगातार उपाधि जित्ने सफलता २ पटक २ टोलीले मात्र हासिल गरेका छन्। ४ पटकको च्याम्पियन इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार उपाधि जितेको थियो। त्यसपछि ब्राजिलले सन् १९५८ र १९६२ को विश्वकपमा लगातार उपाधि जित्ने सफलता हासिल गरेको थियो। त्यसयता कुनै पनि टीमले यस्तो सफलता पाउन सकेका छैनन्। 

अर्जेन्टिना जसरी लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ। उसैगरी समूह ‘जे’ का अरु टीम अल्जेरिया, अस्ट्रिया र जोर्डनका पनि आफ्नै योजनाहरु हुनेछन्। अल्जेरिया र अस्ट्रिया लामो समयको अनुपस्थितीपछि विश्वकपमा फर्किएका हुन् भने विश्वकपको आकार ३२ बाट बढाएर ४८ टीममा पुर्याइएपछि छनोट भएको जोर्डनको यो पहिलो सहभागिता हो। 

दोस्रो पटक विश्वकप जित्न सके मेसीको छवि विश्व फुटबलमा पेले र डिएगो म्याराडोनाजस्तो विश्व फुटबलका सर्वकालिन महान हस्तीको समकक्षमा उचालिन सक्छ। सन् २०२२ मा अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि जिताएका मेसीले गएको अप्रिलको मध्यसम्म पनि आसन्न विश्वकप खेल्ने प्रतिबद्धा जनाइसकेका थिएनन्। तर अब उनी टीमका लागि उपलब्ध भइसकेका छन् र सम्भवत यो उनको अन्तिम विश्वकप हुनेछ। 

अर्जेन्टिना

फिफा विश्व वरियताको तेस्रो स्थानमा रहेको ३ पटकको च्याम्पियन अर्जेन्टिनाले २८ औं वरियताको अल्जेरियासँग जुन १६ मा खेल्दै उपाधि रक्षाको अभियान थाल्नेछ। त्यसपछि समूहमा टोलीले अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा पाएका प्रतिद्धन्द्धी अर्जेन्टिनाका लागि सहज मानिएको छ। कुनै पनि टीमले अर्जेन्टिनाको गति रोक्न नसक्ने अनुमानका बीच मेसीको टोली सहजै अघिल्लो चरण पुग्ने विश्वास लिइएको छ। 

चोटका कारण मेसी अनुपस्थित रहेको छनोट खेलमा ब्राजिललाई पराजित गरेपछि अर्जेन्टिना १५ महिनाअघि नै विश्वकपका लागि छानिएको थियो। 

चार वर्षअघि विश्वकप फाइनल खेल्दाको टोलीकै ९ खेलाडी अहिले पनि अर्जेन्टिनाको टीममा छन्। सन् २०२४ मा लगातार दोस्रो पटक कोपा अमेरिका जितेपछि एन्जेल डी मारिया र मेसीले संन्यास लिएका थिए। उनीहरुको ठाउँमा थियागो अल्माडा र लियोनार्दो परेड्सलाई ल्याइएको थियो। तर मेसीले सन्यांस फिर्ता लिएर टीममा फेरि फर्किएका छन्।

दोहामा सफलता दिलाएर अहिले पनि टीममा कायम रहनेमध्ये निकोलस ओटामेन्डी अहिले ३८ वर्ष भइसकेका छन्। निकोलस टाग्लियाफिको ३३ तथा रोड्रिगो डी पाउल ३२ वर्षको उमेरमा छन्। अर्जेन्टिनाको दोस्रो खेलको २ दिनपछि ३९ वर्ष लाग्ने मेसी यही विश्वकपबाट पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै ६ वटा विश्वकप खेल्ने खेलाडी बन्दैछन्। 

विश्वकप इतिहासमा मेसीको नाममा अहिल्यै सर्वाधिक २६ खेल खेलेको कीर्तिमान छ। विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचिमा पनि उनी १३ गोलका साथ फ्रान्सका जस्ट फोन्टेनसँग संयुक्त रुपमा चौथो स्थानमा छन्। जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलका साथ सबभन्दा अगाडि छन् भने ब्राजिलका रोनाल्डो १५ गोलका साथ दोस्रो तथा जर्मनीका ग्रेड मुलर १४ गोलका साथ तेस्रो स्थानमा छन्। 

अन्तर्राष्ट्रिय फुटबलमा पनि मेसी पोर्चुगलका रोनाल्डोपछि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। रोनाल्डोले सर्वाधिक १४३ गोल गरेका छन् भने मेसीको नाममा ११६ अन्तर्राष्ट्रिय गोल छ। यसपाली विश्वकपको दक्षिण अमेरिकी छनोटमा पनि मेसीले सर्वाधिक ८ गोल गरेका थिए। 

सन् २०१८ देखि अर्जेन्टिनालाई नेतृत्व प्रदान गरिरहेका लियोनेल स्कोलानी यसपाली आफूसँग भएको परिपक्व टोलीको बलमा लगातार दोस्रो पटक विश्वकप जित्ने दोस्रो प्रशिक्षक बन्ने अपेक्षामा छन्। उनीअघि सन् १९३४ र १९३८ मा भिट्टोरियो पोजोले लगातार इटालीलाई २ पटक विश्वकप जिताएका थिए। 

टीम अर्जेन्टिना

गोलकिपर : इमिलियानो मार्टिनेज (एस्टन भिल्ला), हुँवा मुसो (एट्लेटिको मड्रिड), जेरोनिमो रुली (मार्से)

रक्षक : लियोनार्दो बालेर्डी (मार्से), लिसान्द्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड), फाकुन्डो मेडिना (मार्से), नाहुइल मोलिना (एट्लेटिको मड्रिड), गोन्जालो मोन्टिइल (रिभरप्लेट), निकोलस ओटामेन्डी (बेन्फिका), क्रिस्टियन रोमेरो (टोटनहम), निकोलस टाग्लियाफिको (लियोन)

मिडफिल्डर : भालेन्टिन बार्को (स्ट्रासबर्ग), रोड्रिगो डी पाउल (इन्टर मायमी), इन्जो फर्नान्डेज (चेल्सी), जियोभानी लो सेल्सो (रियाल बेटिस), एलेक्सिस माक एलिस्टर (लिभरपुल), इजेक्विल पालासियस (बायर लेभरकुसन), लियान्ड्रो पारेड्स (बोका जुनियर्स)

फरवार्ड : थियागो अल्माडा (एट्लेटिको मड्रिड), जुलियन अल्भारेज (एट्लेटिको मड्रिड), निकोलस गोन्जालेज (एट्लेटिको मड्रिड), जोसे म्यानुअल लोपेज (पाल्मेइरास), लाउटारो मार्टिनेज (इन्टर मिलान), लियोनेल मेसी (इन्टर मायमी), निकोलस पाज (कोमो), जिउलियानो सिमोन (एट्लेटिको मड्रिड)

प्रशिक्षक : लियोनेल स्कालोनी

अल्जेरिया

सन् १९९० र २०१९ मा गरि दुई पटक अफ्रिका कप अफ नेशन्सको उपाधि जितिसकेको अल्जेरिया सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छानिएको हो। २०१४ को ब्राजिल विश्वकपमा समूह चरण पार गरेको टोली अन्तिम १६ को खेलमा अतिरिक्त समयसम्म संघर्ष गर्दै जर्मनीसँग पराजित भएर घर फर्किएको थियो। 

विश्वकपको अफ्रिकी छनोटमा अल्जेरियाले ८ खेलमा जित हासिल गरेको थियो भने १ मा बराबरी र १ मा पराजय भोगेको थियो। म्यानचेस्टर सिटीका पूर्व विंगर रियाद माहरेजले ३५ वर्षको उमेरमा कप्तानको रुपमा टोलीको नेतृत्व गरिरहेका छन्। उनी अल्जेरियाका लागि इस्लाम स्लिमानी (४५) पछि सबभनदा धेरै अन्तर्राष्ट्रिय गोल गर्नेको सूचिमा दोस्रो स्थानमा छन्। माहरेजको नाममा ३८ अन्तर्राष्ट्रिय गोल छ। 

अर्जेन्टिनाजस्तो महारथी रहेको समूहमा अल्जेरियाले माहरेजसँगै रायन एइट नाउरी र रक्षक रामी बेन्सेबाइनीजस्ता खेलाडीको उपस्थितीमा सुखद नतिजा अपेक्षा गरेको छ। सन् २०१४ देखि २०२१ सम्म स्विट्जरल्यान्डको नेतृत्व गरेका प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले विश्वकपमा टोलीलाई मुख्य प्रशिक्षकको हैसियतमा नेतृत्व गर्नेछन्। 

टीम अल्जेरिया

गोलकिपर : लुका जिदान (ग्रानाडा), औसामा बेन्बोट (युएसएम अल्जेर), मेल्भिन मस्टिल (स्टेड एनयोनियास)

रक्षक : अइसा मान्डी (लिल), रामी बेन्सेबाइनी (बोरुसिया डर्टमण्ड), मोहमेद एमिने टाउगाई (एस्परेन्स डी ट्युनिस), रायन एइट नोउरी (म्यानचेस्टर सिटी), जाउइन हाडजाम (योङ ब्वाइज), राफिक बेल्घाली (हेलास भेरोना), जिनेदिन बेलाइड (जेएस काबिली), अच्रेफ एबाडा (युएसएम एल्गर), समिर चेर्गुई (पेरिस एफसी)

मिडफिल्डर : नबिल बेन्टालेब (लिल), रामिज जेरौकी (ट्वेन्टे), हिचाम बाउडाउइई (निस), फारेस चाइबी (इन्ट्रयाक्ट फ्रयांकफर्ट), हौसेम आएआर (अल इत्तिहाद), इब्राहिम माजा (बायर लेभरकुसन), यासिन टिट्राउई (चार्लेरोई)

फरवार्ड : रियाद माहरेज (अल आहली), मोहमेद एमोउरा (भिएफएल उल्फसबर्ग), एमिन गोउरी (मार्से), एनिस हाड्ज मौसा (फेयर्नुड), एडिल बउलबिना (अल दुहाइल), नाधिर बेन्बौआली (जियोर), फारेस घेदजेमिस (फ्रोसिनोने)

प्रशिक्षक : भ्लादिमिर पेट्कोभिच

अस्ट्रिया

समग्रमा आठौं पटक विश्वकपमा सहभागिता जनाउन लागेको भए पनि अस्ट्रिया सन् १९९८ यता पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताका लागि लायक भएको छ। जहाँ टोलीको उद्देश्य हुनेछ, कम्तिमा सन् १९८२ मा समूह चरण पार गरेर बनाएको इतिहासलाई निरन्तरता दिनु।  

३७ वर्षे मार्को अर्नाउटोभिच अस्ट्रियाको टोलीका सबभन्दा पाका खेलाडी हुन्। राष्ट्रिय टोलीका लागि १३२ खेलमा ४७ गोल गरेका उनी देशको लागि सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। रक्षापंक्तिको नेतृत्वमा रहने कप्तान डेविड अलाबा प्रतियोगिता दौरान नै ३४ वर्षमा लाग्नेछन्। च्याम्पियन्स लिगमा १२० भन्दा बढि खेल खेल्नुका साथै चार पटक युरोपियन क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता जितेको अनुभवले उनलाई विश्वकपमा थप आत्मविश्वास प्रदान गर्नेछ। 

अर्नाउटोभिच र अलाबासँगै प्रशिक्षक राल्फ राग्निकले उच्च प्रदर्शन अपेक्षा गर्ने अन्य खेलाडी हुन्, मिड्फिल्डर मार्सेल साबिटाइजर र कोनराड लाइमेर। म्यानचेस्टर युनाइटेड, होफेनहेम, साल्के, स्टुटगार्ट र लाइपजिगको टोलीलाई समेत नेतृत्व गरिसकेका राग्निक सन् २०२२ देखि अस्ट्रियाली टीमसँग जोडिएका थिए।

टीम अस्ट्रिया

गोलकिपर : एलेक्जेन्डर साल्जर (रेड बुल साल्जबर्ग), फ्लोरियन विगेले (भिक्टोरिया प्लाजेन), प्याट्रिक पेन्ट्ज (ब्रोन्डली)

रक्षक : डेविड एफेनग्रुबर (इल्चे), केभिन डान्सो (टोटनहम), स्टेफन पोस्च (कोमो), डेविड अलाबा (रियाल मड्रिड), फिलिप लिनहार्ट (फ्रेइबर्ग), फिलिप एमवेन (मेइन्ज), एलेक्जेन्डर प्रास (होफेनहेम), मार्को फ्रिडेल (वेर्डेर ब्रेम्यान), माइकल सोबोडा (भेनेजिया)

मिडफिल्डर : साभेर स्लाघेर (आरबी लाइपजिग), निकोलस सिवाल्ड (आरबी लाइपजिग), मार्सेल साबिट्जर (बोरुसिया डर्टमण्ड), फ्लोरियन ग्रिलिस्च (ब्रागा), कार्नी चुक्वुमेका (बोरुसिडा डर्टमण्ड), रोमानो स्मिड (वेर्डेर ब्रेम्यान), कोर्नाड लाइमेर (बायर्न म्युनिख), प्याट्रिक विमर (भिएफएल उल्फसबर्ग), पाउल वानर (पिएसभी आइन्डहोभन), एलेसान्द्रो स्कुफ (उल्फसबर्गर)

फरवार्ड : मार्को अर्नाउटोभिच (रेड स्टार बेलग्रेड), माइकल ग्रेजोरिस्च (ब्रोन्डबाई), सासा कालाडेजिच (उल्भस)

प्रशिक्षक : राल्फ राग्निक

जोर्डन

पहिलो पटक विश्वकपका लागि छनोट भएको एसियाली टोली जोर्डनसँग अन्तर्राष्ट्रिय फुटबलमा स्मरण गर्न लायक खासै सफलताका कथा छैनन्। एएफसी एसियन कपमा तीन वर्षअघि उपविजेता हुनु जोर्डनको फुटबल इतिहासकै सबभन्दा ठूलो उपलब्धि हो। यसबाहेक सन् २००४ र २०११ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुग्दाको सहभागितालाई पनि जोर्डनका फुटबल समर्थकले सम्झिइरहन्छन्। 

जोर्डनका लागि २४ अन्तर्राष्ट्रिय गोल गरेका मुसा अल तामरी फ्रान्सेली टोली रेनेसबाट व्यावसायिक फुटबल खेल्छन्। उनी वर्तमान जोर्डन टीमका सबभन्दा बढि आशा गरिएका खेलाडी हुन्। युरोपेली क्लबबाट खेल्ने थोरै मात्र जोर्डनका खेलाडीमा अर्का फरवार्ड इब्राहिम साब्रा हुन्। क्रोएसियाको लोकोमोटिभा जागरेबबाट खेल्ने साब्राबाट पनि टीमले विश्वकपमा राम्रो प्रदर्शनको आशा राख्नेछ। 

आसन्न विश्वकपमा जोर्डनको टीम मोरक्कोका पूर्व मिड्फिल्डर जमाल सेलामीको नेतृत्वमा रहनेछ। सेलामीले सन् २०२४ मा मुख्य प्रशिक्षकको रुपमा जोर्डन टीमको बागडोर सम्हालेका थिए। 

टीम जोर्डन

गोलकिपर : याजिद अबुलाइला (अल हुसेन), अब्दल्लाह अल फाखोउरी (अल वेहदत), नाउर बानी अतिहा (अल फाइसाली)

रक्षक : इसान हदाद (अल हुसेन), याजान अल अरब (एफसी शोल), अब्दल्लाह नसिब (अल जावरा), मोहम्मद अबु हसिस (अल कार्मा), सइद अल सोसन (अल कुसेन), हुसाम अबु दाहब (अल फैसाली), मो अबुआल्नादी (सेलांगर), सलिम ओबेद (अल हुसेन), एनास बादावी (अल फेसली)

मिडफिल्डर : राजाई अयेज (अल ुहसेन), नूर अल रावाबदेह (सेलांगर), इब्राहिम सादेह (अल कार्मा), निजार अल रासदान (कतार एससी), मोहन्नाद अबु ताहा (अल क्वा अल जाविया), अमेर जामौस (अल जावरा), मोहम्मद अल दाउद (अल वेहदात)

फरवार्ड : मुसा अल तामरी (रेनेस), महमुद अल मार्दी (अल कुसेन), अली ओल्वान (अल साइलिया), मोहमद अबु ज्रायक (राजा कासाब्लांका), ओडेह अल फाखोउरी (पिरामिड्स), इब्राहिम साब्रा (लोकोमोटिभ जागरेब), अली एजाजेह (अल शाबाब)

प्रशिक्षक : जमाल लेलामी

समूह ‘जे’ खेलतालिका (नेपाली समयअनुसार)
– अर्जेन्टिना विरुद्ध अल्जेरिया, १७ जुन, बिहान ०६ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)
– अस्ट्रिया विरुद्ध जोर्डन, १७ जुन, बिहान ०९ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)
– अर्जेन्टिना विरुद्ध अस्ट्रिया, २२ जुन, राती २२ः४५ बजे, डालास रंगशाला (टेक्सास)
– जोर्डन विरुद्ध अल्जेरिया, २३ जुन, बिहान ०८ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)
– अल्जेरिया विरुद्ध अस्ट्रिया, २८ जुन, बिहान ०७ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)
– जोर्डन विरुद्ध अर्जेन्टिना, २८ जुन, बिहान ०७ः४५ बजे, डालास रंगशाला (टेक्सास)

Back to top